२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशी राष्ट्रपति हमिद केहीबेरमा आउनुहुँदै, यस्तो छ चारदिने भ्रमणतालिका

रेडियो नेपाल २०७६ कार्तिक २६ गते १२:४६

काठमाडौँ  । छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लाग्नुभएको हो ।

यस्तो छ कार्यक्रम

मंगलबार

बंगलादेशका राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७१ बाट अवतरण गर्दै हुनुहुन्छ । उनी विमानस्थलमा १२ः५५ बजेबाट १ः१५ सम्म स्वागत समारोहमा सरिक हुनेछन् । त्यसपछि १ः३५ बजे होटेल म्यारिएटमा पुग्नुहुन्छ  ।

त्यहाँ केही समय आराम गरेपछि उनी भक्तपुर जानका लागि ३ बजेर २० मिनेटमा नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् । उनी ३ बजेर ४७ मिनेटमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयको हेलिप्याडमा अवतरण गर्नेछन् । त्यहाँबाट मोटरकेडसहित भक्तपुर दरबार स्क्वायरमा जानेछन् । ५ बजेर १५ मिनेट जाँदा सैनिक आवासीय महाविद्यालयको हेलिप्याडबाट उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी ५ बजेर ४३ मिनेटमा होटल म्यारिएटमा पुग्नेछन् । सोही होटलमा साँझ ६ः१५ देखि ६ः३५ सम्म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपतिसँग भेट गर्नेछन् । ७ः१० बजे बंगलादेशी राष्ट्रपति नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सरिक हुन प्रस्थान गर्नेछन् ।

बुधबार

बिहान १०ः५० देखि ११ः५ सम्म राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बंगलादेशका राष्ट्रपतिलाई होटल म्यारिएटमै भेट्नेछन् । ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई भेट्नेछन् । त्यसपछि २ बजेबाट २ः१५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्ने कार्यक्रम रहेको छ । २ः४० देखि ३ः१० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी राष्ट्रपतिसमक्ष शिष्टाचार भेट गर्नेछन् । ३ः१५ बाट ३ः३५ सम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्यक्रम रहेको छ ।

४ बजे बंगलादेशका राष्ट्रपति शितल निवासका लागि प्रस्थान गर्नेछन् । ४ः३० देखि ५ बजेसम्म उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बैठक गर्नेछन् । ५ बजेर १५ मिनेट जाँदा उनी म्यारिएट होटलमा फर्कनेछन् । ६ बजेर १५ मिनेट जाँदा उनको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यति तर्फ प्रस्थान गर्नेछन् । ६ः३० बजेबाट ९ बजेसम्म रात्रिभोजको कार्यक्रम रहेको छ । उनी ९ बजेर १० मिनेटमा होटल म्यारिएट पुग्नेछन् ।

बिहीबार

बिहान ११ बजे उनी नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् र ११ः७ बजे उनी त्यहाँबाट पोखराका लागि प्रस्थान गर्नेछन् । ११ः५७ मा उनी पोखरा पुग्नेछन् । १२ः२० देखि १ बजेसम्म उनी फेवातालमा बोटिङ्ग गर्नेछन् । १ः५ बजे स्थानीय फिस्टेल लजमा उनी दिवाभोजका लागि जानेछन् । २ः१५ बजे उनी पोखरा विमानस्थलको लागि प्रस्थान गर्नेछन् । २ः३० बजे उनी रुपाकोट रिसोर्टतर्फ प्रस्थान गर्नेछन् । उनी त्यहाँ एक घण्टा बस्नेछन् । ३ः५५ बजे उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । ४ बजेर ४० मिनेटमा उनी काठमाडौं आइपुगेर होटल तर्फ प्रस्थान गर्नेछन् ।

शुक्रबार

बिहान ११ बजे चन्द्रागिरी हिल्सका लागि होटल छोड्नेछन् । त्यसका लागि उनी नारायणहिटी हेलिप्याडमा गएर त्यहाँबाट ११ः३० मा चन्द्रागिरी पुग्नेछन् । उनी केबुलकार चढेर माथि जानेछन् । दिवाभोजको कार्यक्रम त्यहीं राखिएको छ । १ बजेर ३५ मिनेटमा उनी त्यहाँबाट प्रस्थान गर्नेछन् र २ बजे होटल म्यारिएटमा आइपुग्नेछन् । ४ः२५मा उनी स्वदेश प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । ४ः४०मा विमानस्थलमा विदाई समारोह हुनेछ । विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७० बाट ढाकातर्फ प्रस्थान गर्नेछन् ।

सम्बन्धित