तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी नगरपालिकाले अब प्रत्येक वडा कार्यालयबाटै राजश्व संकलन गर्ने

कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिकाले अब प्रत्येक वडा कार्यालयबाटै राजश्व संकलन गर्ने व्यवस्था मिलाउन लागेको छ ।

नगरपालिकाको क्षेत्र ठुलो भएकोले सबै करदाता नागरिकलाई नगरपालिका कार्यालयमा पुगी राजश्व तिर्न बोझिलो र खर्चिलो भइरहेको हुँदा नागरिकलाई सहजता प्रदान गर्न वडा कार्यालय बाटै राजश्व संकलन गर्ने व्यवस्था मिलाउन नगर कार्यापालिका बैठकले निर्णय गरेको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा सचिवहरुलाई तत्सम्बन्धी तालिम प्रदान गरी प्रविधि विस्तारको काम भइरहेको छ ।

स्थानीय सरकारले पाएको अधिकार बमोजिम राजश्व संकलनको सन्दर्भमा यसअघि नगरपालिका कार्यालयबाट मात्रै संकलन गर्ने गरिएको राजश्व परामर्श समितिका संयोजक एवं बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले बताउनु भएको छ । आगामी दिनमा वडा कार्यालयबाटै राजश्व संकलन गर्दा नागरिकलाई सहज हुने र संकलन हुन नसकेको राजश्व समेत संकलन हुने उहाँको भनाइ छ ।

निर्वाचनको समयमा जनताको घरदैलोमा गरिएका वाचा प्रतिबद्धताहरुलाई कार्यान्यवन गर्ने क्रममा आवश्यक प्रबन्ध मिलाई नागरिकलाई सेवा प्रवाह गरिरहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको दाबी छ ।

नयाँ अभ्यासमा केन्द्रित हुँदा र कर्मचारी व्यवस्थापनमा ढिलाई हुँदा केही बिलम्ब भएपनि अब छिट्टै नागरिकले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको आभाष गर्ने नगर प्रमुख चौधरीको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button