तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीको गुनासो : भिरालोमा भवन भयो, पानीको मूल सुक्यो

गोठालापानी । बैतडीको दशरथचन्द नगरपालिका–३ खतेडीस्थित कुलौन माविको भवन भिरालो जमीनमा भएकाले विद्यार्थीलाई विद्यालय हाताभित्रै जोखिमको खतरा छ ।

विसं २००४ मा प्राथमिक तहबाट शुरु भएको यो विद्यालयसँग २७ रोपनी तीन आना भिरालो जग्गा छ । विद्यालयमुनि सल्ला र सिसौका रूखहरु भएकाले पहिरो जाने सम्भावना त छैन तर दुर्गाभवानी–सडक बनाउने क्रममा डोजर चलाउँदा विद्यालयमा आउने पानीको मूल सुकेको छ ।

गत वैशाखमा पानी पाउन मुस्किल भएपछि विद्यार्थीले चर्काे गुनासो गरे । उनीहरुले पानीका लागि वडा कार्यालय घेर्ने चेतावनी दिए । शिक्षकहरुले जनप्रतिनिधिसँग आफैँ कुरा राख्ने र समस्या समाधान गर्ने वचन दिएपछि विद्यार्थी शान्त भए तर अहिलेसम्म पानीको सुनिश्चितता भएको छैन । विद्यालयले अस्थायीरूपमा ड्रम राखेर पानीको प्रबन्ध गरेको छ । विद्यार्थीले ती ड्रम आफँै सफाइ गर्ने गरेका छन् ।

भिरालो जमीनमा भवन र खानेपानीको समस्याबारे विद्यार्थीले विद्यालयसमक्ष लिखित गुनासो गरेपछि विद्यालयले स्थानीय तह र जोखिम विपद् न्यूनीकरणमा कार्यरत संस्थालाई सहयोगका लागि गुहारेको छ । विद्यालयले कक्षा १ देखि ५ सम्म तल्लो र कक्षा ६ देखि १२ सम्मको पढाइ माथिल्लो कान्लाको भवनमा सञ्चालन गरिरहेको छ । विद्यालयले नजिकैको खेत किनेर सानो भलिबल मैदान भने बनाएको छ ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले विद्यालयमा राखिएको गुनासो पेटिकामा भिरालो स्थानको भवन र पानी अभावबारे बिदाको समयमा समेत गुनासो गरेकाले आफूहरुलाई भौतिक पूर्वाधार सुधार्न बल मिलेको बताउनुभयो । उहाँका अनुसार गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर नगरपालिका र रेडक्रसलाई सहयोग गर्न लिखित आग्रह गरिएको छ र सहयोग आउने आशा पलाएको छ । नगरपालिकाले नयाँ भवनका लागि सहयोग गरेको छ भने रेडक्रसले पर्खाल बनाइदिने आश्वासन दिएको छ ।

नगरपालिकाका शिक्षा शाखाप्रमुख मोहन नाथले सो विद्यालयलाई नयाँ भवन निर्माणका लागि हालै रु ५० लाख रकम निकासा गरी ठेक्का भइसकेको जानकारी दिनुभयो ।

स्थानीय शासन सञ्चाल ऐन, २०७४ को दफा ११ (ज) बमोजिम तयार गरिएको गुनासो सुनुवाइ कार्यविधि, २०७४ स्थानीय तहमा कार्यान्वयनमा छ । विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विद्यालय क्षेत्र विकास योजनामा उल्लिखित सुरक्षित विद्यालय बनाई विद्यार्थीमाथि हुने दुव्र्यवहार तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्न कार्यविधि ल्याइएको हो ।

विद्यालय हाताभित्र, विद्यालय आउँदाजाँदा समुदायमा बालबालिकामाथि हुने वा हुनसक्ने भेदभाव, शारीरिक वा मानसिक दण्डसजाय ‘बुलिङ’ लगायतका जोखिमको निर्धारित प्रक्रियाबाट न्यूनीकरण गर्न कार्यविधिले विभिन्न विधि तोकेको छ । कार्यविधिअनुसार विद्यालयले विद्यार्थीको मौखिक वा लिखित गुनासो सङ्कलनका लागि विद्यालय हातामा गुनासो पेटिका राखिएको र गुनासाहरुलाई गोप्य राखी गुनासो सुनुवाइ समितिले प्रत्येक तीन–तीन महिनामा अन्तक्र्रिया गर्नुपर्नेछ ।

विद्यालयले गुनासो सुन्ने शिक्षकसमेत तोक्नुपर्नेछ । विद्यार्थीले दिने गुनासोहरुलाई बाल संरक्षण÷लैङ्गिक हिंसा, शिक्षण सिकाइ र पूर्वाधारसँग सम्बन्धित विषयवस्तुमा वर्गीकरण गरिनेछ । नगरपालिकाले गुनासो पेटिका राख्न निर्देशन र सञ्चालनका लागि तालीम दिई सो कार्यविधिको पूर्ण विरवरणसहित गुनासो अभिलेख पुस्तिका छपाइ गरी वितरण गरेको छ ।

वडा नं ४ शाहीलेकस्थित वीरेन्द्र माविका सहायक प्रधानअध्यापक कैलाशकुमार कनौजिया गुनासो पेटिकामा विद्यार्थीले माग गरेपछि आफूहरुले सेतोपाटीको प्रबन्ध गरेको सुनाउनुभयो । दानेश्वर माविका शिक्षक भुवनेश्वरी पन्तले गुनासो पेटिकामा विद्यार्थीले कम्प्युटर सफ्टवेयर मागेपछि उपलब्ध गराइएको जनाउनुभयो ।

नगरपालिका–१ गुरुखोलास्थित मणिलेक माविमा भने अहिलेसम्म गुनासो पेटिका राखिएको छैन । विद्यालयका कक्षा १० का विद्यार्थी आकाश थलालले विद्यालय हातामा खानेपानी र पुस्तकालय नभएको गुनासो गर्नुभयो । विद्यालयका प्रधानाध्यापक त्रिभुवन रावतले गुनासो पेटिका राख्ने प्रक्रियामा रहेको जनाउँदै विद्यालयमा वार्षिक कार्ययोजना लागू भएको बताउनुभयो ।

नगरपालिका–२ देहिमाण्डूस्थित निग्लासैनी माविमा भने गुनासो पेटिका राखिए पनि हालसम्म गुनासो परेको छैन । विद्यालयका प्रधानाध्यापक प्रेमसिंह बोहराले कुनै समस्या भएका विद्यार्थीले सिधै र मौखिकरूपमा राख्न आफूले भन्ने गरेको बताउनुभयो । विद्यालयका कक्षा १२ का विद्यार्थी रेजिना टेलरले विद्यालयमा आफूहरुको गुनासोपछि छात्रा शौचालय बने पनि महिनावारी हुँदा स्यानेटरी प्याड फाल्ने ठाउँ नभएको जनाउनुभयो ।

विद्यार्थीको गुनासाकै आधारमा नगरपालिकाले विद्यालय नजीकका सडकमा जेब्राक्रस राखेको छ भने विद्यालय हातामा विस्तारै सवारी साधन चलाउन आग्रह गरिएका होडिङ बोर्ड राखिएका छन् ।

नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दका अनुसार शौचालय र खानेपानी नभएका विद्यालयका लागि वार्षिक रु सात लाख विनियोजन गरिएको छ । विद्यालयमा दिवा खाजाका लागि रु एक करोड ५५ लाख दिइएको छ भने युनिसेफले सबै विद्यालयमा फिल्टर उपलब्ध गराएको छ । नगरपालिकाभित्र ५४ सार्वजनिक र १० संस्थागत विद्यालय छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button