तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

काठमाडौँ – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको अन्तिम नामावली सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने कार्य आज सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, कास्कीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा र भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को १, बागलुङको निर्वाचन क्षेत्र २ को दुई तथा दाङको निर्वाचन क्षेत्र ३ को २ मा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्कीमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।

यसैगरी, प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, भक्तपुरमा विभिन्न राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवार, बागलुङमा विभिन्न राजनीतिक दलका ८ र स्वतन्त्र २ गरी १० जना उम्मेदवार र दाङमा विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्र २ गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सम्पन्न भएको निर्वाचन आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको
छ ।

प्रतिनिधिसभा सदस्यको रिक्त १ र प्रदेशसभा सदस्यको रिक्त ३ पदका लागि पुरुष उम्मेदवार ५५ र महिला उम्मेदवार ९ गरी कूल ६४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button