तपाईँ सुन्दै हुनुहुन्छः

  लसुनको बीउ निर्यात   

जाजरकोट –लसुनको पकेटक्षेत्र घोषणा गरी काम थालेको नलगाड नगरपालिकाले दुई वर्षभित्र बीउ निर्यात गर्न थालेको छ ।नगरपालिका–९, १० का स्थानीयवासीलाई आर्थिक सहयोग गरेसँगै लसुनको बीउ उत्पादन गरी स्थानीयवासीले निर्यात गर्न थालेको हुन् ।

नगरपालिकाले लसुनखेती गर्ने किसानलाई मध्यनजर गरी लसुनको पकेटक्षेत्र घोषणा गरेसँगै लसुनको बीउदेखि खानको लागि देशका विभिन्न ठाउँमा निर्यात भएको हो ।

पाँच वर्ष अघि बीउ नपाउने यहाँका स्थानीयवासी अहिले लसुनको बीउ बिक्री गरी मनग्य आम्दानी गरिरहेको स्थानीयवासी डम्मर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्ष पहिले सिँचाइको अभावमा बाँझो रहेको जमीन अहिले सिँचाइको सुविधासँगै लसुन निर्यात गर्ने मुख्य थलो भएको छ, बीउ नै बिक्री गरेर प्रतिघरले रु एक लाख भन्दा बढी कमाउने गर्दछन् । ”

नगरपालिकाले आर्थिक सहायता गरेपछि किसानको जीवनस्तर माथि उठेको स्थानीय समाजसेवी नीमबहादुर ध्यारले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले हाम्रो ठाउँमा यातायातको सहज पहुँचसँगै लसुनखेती फस्टाएको छ, गाउँका सबै गाउँलेले राम्रो आम्दानी गरेका छन् । ” अर्थअभावका कारण भारतलगायतका अन्य ठाउँमा काम गर्न जाँने स्थानीयवासी अहिले गाउँमा लसुनसँगै अन्य तरकारीजन्यखेती गरी राम्रो आम्दानी हुन थालेपछि गाउँमै खेतीकिसानीमा व्यस्त भएको स्थानीय शिक्षक गोपाल ध्यारले बताउनुभयो ।

अहिले लसुनसँगै स्थानीयवासी अन्य बेमौसमी तरकारीबालीतर्फ आकर्षित भएको पाइएको छ । यातायातको सहज पहुँच भएसँगै यहाँ उत्पादन भएको तरकारीबाली निर्यात गर्न सजिलो भएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु सजिलै बजारसम्म पुग्ने भएपछि अर्थोपार्जनमा ठूलो सहयोग पुगेको वडा– ९ का अध्यक्ष विष्णु विकले बताउनुभयो । उहाँले भन्नुभयो,“नगरपालिकाको योजनामा किसानले मेहनतका साथ काम गर्नुभयो, अनि उहाँहरुको जीवनस्तर पनि राम्रो भयो, अर्कोतर्फ हाम्रो वडा आर्थिक रुपमा बलियो भयो । ”

रु एक हजार ऋण लिन गाउँ–गाउँ भौतारिने यहाँका स्थानीयवासी अहिले हजारौ रुपैया हातमा खेलाएर अरुलाईसमेत ऋण दिने अवस्थामा पुग्दा हामी खुशी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आर्थिक वर्षदेखि थप केही नयाँ कार्यक्रम बनाएका छौँ, लसुनखेतीमा राम्रो आम्दानी भएसँगै टिमुरखेती र मौरी ‘जोन’ थप गरी किसानलाई अनुदान दिएर काम भइहेको छ, अघिल्लो वर्ष ४० टन लसुनको बीउ निर्यात गरिएको थियो । ”

नगरपालिकाको योजना र किसानको मेहनतले गर्दा यहाँको अर्थ उर्पाजन मात्र भएको छैन् छिमेकी स्थानीय तहलेसमेत अनुशरण गर्न थालेका छन् । प्राङगारिक मलको प्रयोग र उन्नत जातको बीउको प्रयोगले गर्दा किसानले राम्रो आम्दानी गर्न सफल भएका हुन् । जनतालाई व्यावसायिक रुपमा अगाडि बढाएर अर्थतन्त्रको हिसाबले राम्रो गर्न सके मात्र त्यहाँको समाजको राम्रो विकास हुने स्थानीय गगनबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जीवनस्तर बदल्नका लागि नलगाड नगरपालिकाले योजना बनाएर काम गरीरहेको छ, त्यसैगरी अन्य स्थानीय तहले पनि सिको गरी जनताको जीवनस्तरमाथि उठाए जिल्लाका सबै नागरिक आर्थिक रुपमा बलियो हुने कुरामा दुई मत छैन् । ”
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button