तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीसँग नेपालको हार

काठमाडौँ । टी-ट्वान्टी क्रिकेटमा नेपाली मिक्स टिमले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग लज्जास्पद हार व्यहोरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको हो ।

नेपाल भ्रमणमा रहेको एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर १ बलमा अलआउट हुँदै मात्र ७६ रनमै समेटियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए । यस्तै भिम सार्कीले १३ तथा कप्तान रोहित पौडेलले ६ रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे ।

नेपालका राशिद खानले तीन विकेट लिए ।

एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ ।

तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित भएको थियो भने एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button