तपाईँ सुन्दै हुनुहुन्छः

अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो

बेनी।कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा छ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक, गाडीको क्षमताभन्दा बढी यात्रु, चालकको लापर्वाही र पुराना सवारी साधन रहेको पाइएको छ । मालिका–२ रुममा ध १ ज ५९५ नं को जिप बिलबाङ गाउँ नजीकै दुर्घटना हुँदा त्यसमा सवार करीब २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको घटनास्थलमै ज्यान गएको थियो ।

जिप सडकमै पल्टिएको भए पनि ज्यान गुमाएका दुवै जना जिपको छतमा सवार रहेकाले साँघुरो सडकबाट उनीहरु भिरमा खस्न पुगेका थिए । रुममा जिप दुर्घटना भएको तेस्रो दिनमै मालिका गाउँपालिका–७ बिममा ग १ ख ४४७६ नं को मिनी बाइक्रो बस गलघण्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार चार जनाले अकालमै ज्यान गुमाए । सदरमुकाम दरबाङदेखि बिम गाउँतर्फ जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउनेमा ७० वर्षीय सतदेवी भट्टचन, ११ वर्षीया आयुसा जुग्जाली र नौ वर्षीया रवी जुग्जाली सहित गुल्मीको कालीगण्डकी गाउँपालिका–२ निवासी ३० वर्षीया विष्णु पाण्डे रहेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

रुममा दुर्घटनामा परेको जिपमा १७ जना र बिममा दुर्घटनामा परेको बसमा ३३ जना सवार थिए । यी केही त उदाहरण मात्रै हुन् । जिल्लाका ग्रामीण सडक बढी जोखिमपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्षको कात्तिक तेस्रो सातासम्म जिल्लामा पाँच वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाइसके भने ७१ जना घाइते भएका छन् । हरेक वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको छ । हरेक दुर्घटनाको कारण खोजी र छानविन नहुँदा दुर्घटना न्यूनीकरणमा सरोकारवालाको चासो गएको देखिँदैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार, म्याग्दीमा विगत चार वर्षयता सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा आठ सवारी दुर्घटनामा ११ को मृत्यु र ४५ जना घाइते भए । आव २०७३÷७४ मा १४ सवारी दुर्घटनामा छको मृत्यु र ५२ घाइते भए भने आव २०७४÷७५ मा १४ सवारी दुर्घटनामा ११ को मृत्यु र ३२ घाइते भए । आव २०७५÷७६ मा सात सवारी दुर्घटनामा दुईको मृत्यु र १८ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस अवधिमा १४ वटा जिप, १२ वटा ट्र्याक्टर, नौ वटा बस र तीन वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । “कच्ची ग्रामीण सडक दुर्घटनाको मुख्य कारण बनेका छन्, चालकको लापरबाही, पुराना सवारी साधनसँगै साँघुरा र ग्रेड नमिलेको सडकका कारण दुर्घटना हुने गरेको पाइएको छ,” पौडेलले भन्नुभयो । जिल्लामा कुल ५७७ किलोमिटर विस्तार भएको सडकमध्ये नगण्य मात्रामा सडक कालोपत्र गरिएको छ । जम्मा साढे सात किलोमिटर सडक मात्रै सवारी चलाउन उत्तम रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको ग्रामीण भेगमा एउटै गाउँमा दर्जनौँ सडकका ट्र्याक निर्माण गर्ने गलत प्रवृत्तिले निरन्तरता पाउँदा सडकहरु स्तरीय बन्न सकेका छैनन् । सडकमा गरिएको लगानी समेत उपलब्धिविहीन बन्ने गरेको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले तीन दिनको अवधिमा भएका दुई दुर्घटनाबाट भएको मानवीय क्षतिले सिङ्गो गाउँपालिकालाई दुःखित तुल्याएको बताउनुभयो । सवारी दुर्घटना सामान्य हेलचक्र्याइँको कारण पनि हुने भएकाले सार्वजनिक यातायातमा निगरानी बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । मालिका गाउँपालिकाले ग्रामीण सडकलाई स्तरीय बनाउन प्राथमिकता दिएर बजेट विनियोजन गरेको र कम्तीमा ६ मिटर फराकिलो बनाउने गरी सडकको स्तरोन्नति गर्ने काम थालिएको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाका अधिकाँश गाउँ बस्ती सडक सञ्जालमा जोडिइसक्दा समेत जिल्लाभरको सडक कच्ची छ । सदरमुकाम बेनी, गलेश्वर, रत्नेचौरको बजार क्षेत्र कालोपत्र भए पनि जिल्लाभरको सबै सडक कच्ची नै छ । जिल्लामा दुर्घटना बढ्नुको प्रमुख कारण जीर्ण र कच्ची सडक नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णु बहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार अधिकाँश सडक कच्ची, खाल्टाखुल्टी र साँघुरो भएको तथा सवारी साधनसमेत जीर्ण भएका कारण दुर्घटनाको जोखिम थप बढेको हो । “दुर्घटना न्यून गर्न सडकको स्तरोन्नति नै गर्नुपर्छ, दक्ष सवारी चालक र स्तरीय सवारी साधनको पनि उत्तिकै जरुरत छ,” कार्यालय प्रमुख नेपालीले भन्नुभयो । जिल्लाको ग्रामीण भेगमा पर्याप्त सार्वजनिक सवारी साधन नभएका कारण पनि एउटै सवारी साधनमा कोचिएर यात्रा गर्नुपर्ने र क्षमता भन्दा बढी यात्रु राख्ने गर्दा दुर्घटनाको शृङ्खला बढ्दो देखिएको प्रहरीको भनाइ छ । कच्ची सडककै कारण सवारी साधनहरुसमेत छिट्टै जीर्ण हुन्छ । दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसहित सदरमुकाम बेनी, सिंगा तातोपानी, दरबाङ, भुरुङ तातोपानीमा सवारी जाँच केन्द्र राखिएका छन् । सवारी साधनको चाप अनुसार जनशक्ति व्यवस्थापन नहुँदा सवारी जाँच प्रभावकारी बन्न सकेको छैन । सार्वजनिक यातयातको प्रयोग गर्दा यात्रुसमेत हतार नगरी सुरक्षित हुने गरी यात्रा गर्नेतर्फ ध्यान दिन प्रहरीले अनुरोध गरेको छ ।

म्याग्दीका केही वडा बाहेक अधिकाँश गाउँबस्तीमा सडक सञ्जालको पहूँच पुगेको छ तर, ती सबै सडकको अवस्था जीर्ण छ । सडकको ट्याक निर्माण गरिए पनि सडकको अवस्था भने अत्यन्तै जीर्ण अवस्थामा छन् । अधिकाँश ग्रामीण सडक प्राविधिक रुपमा नापजाँच नगरी डोजर चालक र उपभोक्ता समितिका पदाधिकारीको भरमा मात्रै विस्तार गरिएका छन् । सडक सुरक्षित बनाउन सडकको स्तरोन्नति गरिनुर्ने र चालकहरु दक्ष हुनपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । “सबैको ध्यान सडक विस्तारमा मात्रै गएको छ, सडक नपुगेका बस्तीमा नयाँ ट्याक आवश्यक छ तर, एउटै बस्तीमा थुप्रै सडक जोड्ने प्रवृत्ति हटाउनुपर्छ, सडकलाई स्तरीय बनाउनतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ,” जिसस प्रमुख केसीले भन्नुभयो । अहिले जिल्लामा रहेका छ वटै स्थानीय तहले सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । हरेक वर्ष सडकमा विनियोजन भएको बजेट योजनाबद्ध तवरले परिचालन नहुँदा सडक मर्मतको नाममा डोजर घुमाउने र असारे भलबाढीसँगै करोडाँै बजेट बगेर जाने गरेको छ । एउटै गाउँमा जाने सडक पनि एकभन्दा बढी खन्ने प्रवृत्तिले विस्तार भएका सडकको स्तरोन्नतिमा बाधा उत्पन्न गराएको छ ।(रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button