तपाईँ सुन्दै हुनुहुन्छः

होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

रासस । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवर्द्धक रुपमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग अन्तर्गत होटल तथा रेष्टुराँका क्षेत्रमा पाँच अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ ।

विदेशी लगानीतर्फ चालू आर्थिक वर्षको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित रहेकामा सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधि सम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेको विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले जानकारी दिनुभयो ।

स्वीकृत पाएका ती परियोजनाका लागि ११ अर्ब ३६ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।

गतवर्षको सोही अवधिमा चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button