तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने भन्दै एएफसीले पठायो पत्र, कारण यस्तो

काठमाडौं । दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको भन्दै विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको हो ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ । कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि ‘न्युट्रल भेन्यु’ खोजिने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button