तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको सवालमा नेपालको संविधान विश्वमा उत्कृष्ट : मन्त्री थापा

जनकपुरधाम – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले वर्तमान संविधान महिलामैत्री संविधान रहेका कारणले संविधानको भावना अनुसार सरकारले महिला मैत्री कानून तथा नीति निर्माणमा अगाडि बढेको बताउनु भएको छ ।

महिलामन्त्री थापाले लैङ्गिक हिंसा विरुद्धको वर्षभरिको अभियान अन्तर्गत आज जनकपुरधाममा आयोजना गरिएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले नेपाल सरकारले चालु आर्थिक वर्षलाई लैङ्गिक हिंसा विरुद्धको वर्षको रुपमा मनाउन थालेको बताउदै यस अन्तर्गत प्रदेश तथा स्थानीय तहसम्म समन्वय तथा सहकार्यका लागि नै प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

उहाँले नेपालमा अब वर्षेनी रुपमा नै जेठ १६ मा महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको बताउदै महिलाको अधिकारका दृष्टिकोणले नेपालको संविधान विश्वका उत्कृष्ट संविधान रहेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश नंं २ का सरकारले सञ्चालन गरेको बेटी पढाउ बेटी बचाउ अभियान निक्कै सकारात्मक भएको बताउदै यसले दीर्घकालमा महिला हिंसा न्युनिकरणमा मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले पालिकाहरुले भौतिक विकासमा जोड दिएपनि जस्का लागि भौतिक विकास हुन्छ त्यसको विकासका लागि कार्यक्रम नबनाउनु चिन्ताको विषय भएको बताउदै पालिकाहरुलाई कार्ययोजना नै बनाएर महिला हिंसा रोक्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । महिला मैत्री कानूनको निर्माणमा पनि पालिकाहरुले ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिदै मुलुकको २०० ठाउँमा मन्त्रालयले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो ।

महिला हिंसा रोक्नका लागि खराब आचरण भएका व्यक्तिको व्यवहार परिवर्तनका लागि कडा कानूनको निर्माण गरी दण्डित गर्न जरुरी उहाँको भनाई थियोे ।

प्रदेश नंं २ का सभामुख सरोजकुमार यादवले लैङ्गिक हिंसाको नियन्त्रणका लागि कानूनको निर्माण गरेर पुग्दैन भन्दै हरेकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले महिला हिंसाको नाममा अहिले पुरुष हिंसा पनि बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेश नंं २ को सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश नंं २ मा महिला हिंसा बढी हुनुको प्रमुख कारण प्रदेशका महिलाहरु, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा कमजोर रहनु नै भएको बताउनुभयो ।

प्रदेश नंं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महिलाहरुको सम्पत्ति र सत्तामा सहभागिता नबढेसम्म लैङ्गिक हिंसा कमगर्न कठिन हुने बताउनुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश सभाका सदस्य एवं सचेतक सुन्दर विश्वकर्मा, राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साह, महिला तथा बालबालिका समितिका सभापति जैनुल राईन, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिताकुमारी मिश्र, समग्र किशोरी सञ्जालका अध्यक्ष सिमरन थापा, महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयका सह–सचिव राजेन्द्र कुमार पौडेलले महिला हिंसाको विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश नंं २ का विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं उपप्रमुखहरुको उल्लेख्य सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button