तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाबाट जोगिन तनहुँको भानुमा पुजापाठ, बाह्र बोकाको बलि

तनहुँ । तनहुँको भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्यान लिन थालेपछि त्यस क्षेत्रमा पुजापाठ गरिएको छ ।

नगरपालिकाको १, २, ३ र ४ नम्वर वडाका दुईसय ५२ घर धुरीका पाँच सयभन्दा बढी स्थानीयको सहभागितामा त्यहाँको कालिका मन्दिरमा आइतबार पुजा लगाइएको हो ।

भानु– २ का वडाध्यक्ष अर्जुन बहादुर केसीका अनुसार त्यस क्षेत्रमा पहिले पनि पुजाआजा गरिदै आएको थियो तर, पछिल्लो समय पुजापाठ नगर्दा देवीदेवता रिसाएकी भनेर त्यसलाई निरन्तरता दिनको लागि पुजा गर्ने व्यवस्था मिलाएका हौं ।

‘वडा नम्बर १ को भीमसेन थुम्का कालिका र वडा नम्बर २ को थप्रेक कालिकाको मन्दिरमा पुजापाठ गरिएको छ । पुजापाठ गरिएपछि तत्कालै त्यस क्षेत्रमा पानी पनि परेको छ ।’ पानी परेपछि स्थानीय पनि खुशी भएको उहाँले बताउनुभयो ।

बाह्र बोकाको बलि
भीमसेन थुम्कामा दशवटा र थप्रेक कालिका मन्दिरमा दुईवटा गरी बाह्रवटा बोकालाई बलि दिइएको छ । पहिलेदेखि नै चलिआएको परम्पराको संस्कारलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ । ’पुजाआजा गरेपछि त्यहाँका स्थानीयले सुरक्षित महसुस गरेका छन्’ वडाध्यक्ष केसीले भन्नुभयो ‘पुजा पश्चात चितुवा बस्तीतर्फ पस्दैनकी भन्ने विस्वास गरिएको छ ।’

पछिल्लो समय दिनहुँजसो चितुवाले बालबालिकालाई घरमै आई ज्यान लिन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बन्दै आएका थिए । त्यस्तै निरन्तरको आक्रमण प्रयास नरोकिएपछि बालबालिका विद्यालय जानसमेत डराउन थालेका छन् । चितुवाको आक्रमण नरोकिएपछि अभिभावकलाई आफ्ना केटोकेटीलाई एक्लै नछाड्न आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

‘विशेषगरी साँझ र विहानको समयमा बस्तीमै पसेर चितुवाले निरन्तर आक्रमणको प्रयास गरेपछि अभिभावकलाई छोराछोरी एक्लै नछाड्न भनेका हौं ।’ डिभिजन बन प्रमुख बरालले भन्नुभयो ’चितुवा नियन्त्रणमा लिन जंगलमा परम्परागत काठका खोरहरु निर्माण गरी पासोसमेत थापेका छौ ।’ मन्दिरमा पुजापाठ, जप तथा रुद्राभिषेक गरिएको थियो ।

करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गैसकेको छ भने ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button