तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनमा उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोग कार्यालय, कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उप निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचनलाई सकेसम्म कम खर्चमा सम्पन्न गरिने जानकारी दिनुभयो ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको बताउनुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन पर्यवेक्षणका लागि विभिन्न संस्थाबाट आवेदन प्राप्त भएको जानकारी दिनुभयो ।

उपनिर्वाचनमा उम्मेदवारको मनोनयनदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका उपनिर्वाचनसम्बन्धी सबै प्रक्रियामा आमनागरिकको उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि आयोगले आह्वान गरेको छ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, मतदाता, सम्बन्धित निकाय तथा आमसञ्चारलगायत सबैसँग सहयोगको अपेक्षा पनि गरेको छ ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button