तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

जनकपुरधाम – प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले आजदेखि प्रदेश नं २ को प्रदेश प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि प्रदेश नंं २ का कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनल र प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव होम घिमिरेले संयुक्त रुपमा प्रदेश प्रमुखको कार्यालयमा स्वागत गर्दै पदभार ग्रहण गराउनु भएको थियो ।

प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि पत्रकारहरुसंग प्रदेश प्रमुख परियारले कुरा गर्दै संविधानले दिएको जिम्मेवारी अनुसार आफ्नो भूमिका ईमान्दारीकासाथ कूशलतापूर्वक सम्पादन गर्ने बताउनुभयो ।

उहाँले हिजोसम्म आफू कुनै पार्टीको भएपनि संविधान मातहत प्रदेश प्रमुखको शपथग्रहण गरेपछि सार्वजनिक व्यक्ति भएको बताउदै प्रदेश तथा देशको हकहितको पक्षमा आफूले ईमान्दारिताकासाथ कार्य गर्ने पनि बताउनुभयो ।

एक प्रश्नको अवाफमा प्रदेश प्रमुख परियारले प्रदेश सरकारको सल्लाहकार भएकाले प्रदेश सरकारले पनि आफ्नो राय सल्लाह लिएर तथा संविधानको भावनाअनुसारको विधेयक आएमा प्रमाणिकरण गर्ने र देशको हित विपरितको विधेयकको विषयमा केन्द्र सरकारसंग छलफल एवं परामर्श गरेर आफू अगाडि बढ्ने बताउनुभयो ।

आजै उहाँले सरकारका मन्त्री तथा प्रदेश कार्यालयका कर्मचारी एवं अन्य उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्म तथा भावना एवं नेपाल र नेपालीको हितका लागि काम गर्ने बताउनुभयो ।

प्रदेश प्रमुख परियारले प्रदेश नंं २ अन्नको भण्डार रहेको चर्चा गर्दै यो प्रदेश देशकै मुटु भएकाले यसको विकासका लागि प्रदेश सरकारले गर्ने हरेक कामकाजमा आफ्नो पूर्ण साथ एवं सहयोग रहने पनि बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखले कार्यभार ग्रहण गर्न पुग्दा राष्ट्रिय जनता पार्टीका तर्फबाट सरकारमा रहेका तीन जना मन्त्रीहरुमात्र उपस्थित रहेका थिए । कार्यवाहक मुख्यमन्त्री एवं प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवल किशोर साह तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय उपस्थित रहनु भएको थियो ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परियारलाई नेपाली सेनाको एक टुकडीले सम्मान गाहर्थ अर्पण गर्नुका साथै सलामी अर्पण गरेका थिए ।

यस अघि जनकपुर विमानस्थलमा आईपुग्दा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख परियारलाई स्वागत गर्नु भईै पार्टीको कार्यक्रममा सहभागी हुनका लागि सोही विमानबाट काठमाडाँै प्रस्थान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button