तपाईँ सुन्दै हुनुहुन्छः

‘वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सिमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म अमेरिकाको वासिङ्टनमा विश्व बैंक समूहको आयोजनामा भएको ‘कानून, न्याय र विकास सप्ताह २०१९’ सहभागी कार्यक्रममा ‘न्याय क्षेत्र सुधार र प्रविधि’ विषयक उच्चस्तरीय सत्रमा उहाँले नेपालको न्यायपालिकामा सूचना तथा प्रविधिको प्रयोगको वर्तमान अवस्था र सामना गर्नुपरेको चुनौतीका बारेमा उल्लेख गर्नुभएको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिनुभयो ।

मन्त्री ढकालले अदालतमा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक पूर्वाधार तथा जनशक्ति विकासका लागि विश्व बैंकसँग मिलेर सहकार्य गर्न सरकार इच्छुक रहेको समेत बताउनुभयो । उक्त सत्रमा विभिन्न २५ वटा मुलुकका कानूनमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश तथा महान्यायाधिवक्तालगायत उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button