तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि पक्राउ शृंखला: साढे दुई वर्षमा ८० जना पक्राउ

काठमाडौं। स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।

विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उप्रमुख हुँदै वडा सदस्यसम्म गरी साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।
उनीहरूलाई ज्यानसम्बन्धी कसुर, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, झुटा विवरण पेस गरी नागरिकता बनाएको, कुटपिट, बहुविवाह, सार्वजनिक शान्तिविरुद्ध, अभद्र व्यवहार, गैरकानुनी भेला, ठगी, लागूऔषधसहितका विभिन्न शीर्षकमा पक्राउ गरी कारबाही अघि बढाएको प्रहरी तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार यस अवधिमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, संघीय सांसद मोहम्मद अफताव आलम तथा प्रमोदकुमार साह र कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीसहित कुल ८० जना जनप्रतिनिधि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । खड्गीले भने अदालतमा आत्मसमर्पण गरेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

 

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले कानुनलाई निष्पक्ष, पारदर्शी, समान र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल प्रहरीले दृढतासाथ गति लिएको बताउनुभयो  ।
प्रहरीले कानुनी राज्यमा व्यक्तिको पहिचान र हैसियत नहेरेर अपराधमा निजको संलग्नता वा असंलग्नताको पुष्टि गर्ने आधार र प्रमाण मात्रै खोज्ने र कानुन आकर्षित हुन सक्ने सबै क्षेत्र र व्यक्तिमा निर्बाध कानुनको प्रयोग गरेर जनतामा विधिको शासनप्रतिको विश्वासलाई बलियो बनाउनेतर्फ प्रहरी केन्द्रित भएको उनले बताउनुभयो ।

कुन पदका कति पक्राउ ?
सभामुख—१
संघीय सांसद—२
प्रदेश मन्त्री—१
मेयर—१
उपमेयर—१
अध्यक्ष—१
उपाध्यक्ष—२
वडाध्यक्ष—५६
वडा सदस्य—१५
सचिव÷कर्मचारी—७

प्रतिक्रिया राख्नुहोस्

Back to top button