२०७९ साल साउन २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली टिमद्वारा एमसीसी ५ विकेटले पराजित

अजय बम २०७६ कार्तिक १८ गते १८:१६

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लेगसी टुरअन्तर्गत दोस्रो खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ ।

जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा विकेटकिपर विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरे । भण्डारीले ३८ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै नेपालको जित जिताउनुको साथै आफ्नो अर्ध शतक पुरा गरेका थिए ।

पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे । पवन र विनोदले छैटौं विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरे ।

यासिर अराफातले पहिलो ओभरको दोस्रो बलमै ओपनर इशान पाण्डे ४ रनमा पेभिलिएन फर्काएका थिए । यासिर अराफातले पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा क्याच आउट गराए । मल्लले २ चौका प्रहार गरे ।

१८ ओभरको दोस्रो बलमा शरद भेषवाकर ४ चौकासहित २४ रनमा क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट हुन पुगे । दीपेन्द्रले २ छक्का प्रहार गरे । २९ औं ओभरमा आरिफ ३ चौका सहित २३ रनमा क्याच आउट भए ।

नेपालले ३१ रन एक्स्ट्रा पाएको थियो । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा २ सय १ रनमा अल आउट भएको थियो ।

ओपनर विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिए । अर्का ओपनर ओपनर बिली गोडलम्यानले ५२ रन जोडे ।

११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नुअघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गरेका थिए ।

ललित नारायण राजवंशीले इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।

ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । तीव्र गतिका बलर अभिनास बोहोरा र करण केसीले १–१ विकेट लिए ।

सम्बन्धित