तपाईँ सुन्दै हुनुहुन्छः

जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

काठमाडौँ   काठमाडौँ  जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उहाँलाई डिल्लीबजार कारागारमा राखिने छ । महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । महराको अदालती बयान शुक्रबार भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो । महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button