तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको सांगठनिक एकता चाँडै टुंग्याइने प्रवक्ता श्रेष्ठको भनाई

फाइल तस्बिर

भद्रपुर, झापा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीको सांगठनिक एकताको काम चाँडै टुंग्याइने बताउनु भएको छ ।

नेकपा झापाको प्रचार विभागले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । पार्टी एकीकरणको काम मूलभूत रुपमा सम्पन्न भइसके पनि सांगठनिक एकताका काममा केही प्राविधिक कुरा रहेकाले त्यसलाई चाँडै ट्ंग्याएर पार्टीलाई महाधिवेशनको दिशामा केन्द्रित गर्ने उहाँको भनाइ थियो ।

नेकपाको सचिवालय सदस्यसमेत रहनुभएका नेताले यसरी पार्टीलाई एकीकृत, क्रान्तिकारी र शक्तिशाली पार्टीको रुपमा र सरकारलाई कम्यष्टिहरुको सरकारको रुपमा समाजवादउन्मुख समृद्धिको लक्ष्य हासिल गर्ने सरकारको रुपमा स्थापित गर्ने गरी अगाडि बढेको उल्लेख गर्नुभयो ।

आजै मात्र सिफारिश गरिएका प्रदेश प्रमुखहरुको सन्दर्भमा प्रवक्ता श्रेष्ठले संविधानसम्मत रुपमा सरकारले सिफारिश गरेर राष्ट्रपतिले नियुक्ति गर्ने विषय भएकोले यस विषयमा पार्टीको तर्फबाट धेरै बोलिरहनु नपर्ने जिकिर गर्नुभयो ।

विगतमा पनि पार्टीहरुसँग छलफल नै नगरी कामचलाउ सरकारले अन्तिम समयमा प्रदेश प्रमुखहरु नियुक्त गरेको भन्दै प्रवक्ता श्रेष्ठले वर्तमान सरकारले संविधानले दिएको अधिकार प्रयोग गरी सिफारिश गरेकोले यस विषयमा टिप्पणीको आवश्यकता नरहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अहिलेको अवस्था ठिक रहेको बताएको र प्रधानमन्त्रीले पनि आफ्नो नियमित काम गरिरहनुभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button