तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो: सभापति पोख्रेल

चितवन। कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा गरेको सांसदसँग संवाद कार्यक्रममा बोल्दै सभापति पोख्रेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकूलता वा प्रतिकूलतामा फेरबदल गर्नसक्ने स्पष्ट पार्नुभयो ।

“उहाँहरुलाई निर्वाचन अघिको सरकारले नियुक्त गरेको हो, अहिले स्पष्ट बहुमतको अर्को सरकार छ । यस्तो अवस्थामा उहाँहरु आफैँले पद छाड्नु बुद्धिमता हुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले स्वभाविक रुपमा उहाँहरुलाई पदमुक्त गरेको हो”, पोखरेलले भन्नुभयो ।

कानून कार्यान्वय, अन्तराष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकार पूर्णरुपमा सफल भएको उल्लेख गर्दै पोखरेलले विकास निर्माणका ठूला परियोजनाहरु धमाधम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सुशासनका विषयमा सकारात्मक प्रयासहरु भइरहेकाले जनतासँग भएका प्रतिबद्धताहरु पूरा हुनेछन् ।”

चितवन क्षेत्र नं २ का सांसद पोखरेलले यहाँको विकास निर्माणमा भएका प्रगतिसमेत सुनाउनुभएको थियो । आफ्नो निर्वाचन क्षेत्रको केही पहाडी बस्तीमा रहेको विद्युतीकरण र सडकको समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो । महासङ्घ चितवनको भौतिक संरचना निर्माणका लगि सांसद विकास कोषबाट केही रकम उपलब्ध गराउने प्रतिबद्धता सांसद पोखरेलले व्यक्त गर्नुभयो ।

महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लाका सबै सांसदहरुसँग यस खालको कार्यक्रम क्रमशः गर्दै जाने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button