तपाईँ सुन्दै हुनुहुन्छः

ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने

काठमाडौँ – नेपालको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ गतेसम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्स्पोमा सहभागिता जनाउन लागेको हो ।

नाट्टाले आइतबार पत्रकार सम्मेलन गरी नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा सहभागिता जनाउन लागेको जानकारी दिएको हो ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले युरोपका मुलुकका पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्ने बताउनुभयो । “सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन ग्रिस पर्यटन मेलाको सहभागिताले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

मेलामा नेपालबाट आनन्द एडभेन्चर ट्रेक प्रालि, अपोइटमेन्ट नेपाल इन्टरनेशनल प्रालि, कोलम्बस ट्राभल्स एन्ड टुर्स प्रालि, कोइली टुर्स प्रालि, मकालु एडभेन्चर ट्राभल्स एन्ड टुर्स प्रालि, एमडी एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालि, मिशन नेपाल होलिडेज, सयपत्री ट्राभल्स नेपाल प्रालि, स्वर्गद्वारी ट्राभल्स एन्ड टुर्स प्रालि र अन्लिज्ड नेपाल इन्टरनेशनल प्रालिको सहभागिता रहने नाट्टाले जनाएको छ ।

नाट्टाका महासचिव रमेश थापाले नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालले युरोपको पर्यटन मेलामा पहिलो पटक भाग लिन लागेको जानकारी दिनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको एक्स्पोबाट नेपाली पर्यटनलाई युरोपेली बजारमा लैजान सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

नाट्टाले विगतका वर्षमा पनि विभिन्न देशको पर्यटन मेलामा सहभागिता जनाउँदै आए पनि युरोपमा भने पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव थापाले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका अधिकृत सीताराम दाहालले यस्ता मेलाको सहभागिताले नेपालको पर्यटन उद्योगको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button