तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बजेट बाँडफाँट

नुवाकोट। नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत प्राप्त रु छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गर्नुभएको छ । कार्यक्रम निर्देशक समितिको विदुरमा आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र नं १ का विभिन्न सात वटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा विनियोजन हुने गरेर ती योजनामा बजेट तर्जुमा गरिएको सांसद् तामाङले जानकारी दिनुभयो ।Image result for नुवाकोट

अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बजेट विनियोजनमा सडक निर्माण तथा विस्तारलाई प्रथामिकता दिइएको छ । तर्जुमा गरिएको बजेटमा ककनी गाउँपालिकामा पाँच, पञ्चकन्या गाउँपालिकामा तीन र दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिकामा समान चार–चार योजना समावेश गरिएको छ ।

“अघिल्लो वर्ष रु चार करोड रहेकोमा यो वर्ष दुई करोड थप भएर प्राप्त भएको रु छ करोड बजेटअन्तर्गत तोकिएको मापदण्डअनुसार रु पचास लाखभन्दा ठूला योजना ६ वटा तर्जुमा गरिएको छ”, सांसद तामाङले भन्नुभयो “सडकलाई प्रमुख प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि ठूलो योजनामा शिक्षा, कृषि, विपद् व्यवस्थापनसहितका नयाँ योजनालाई प्रथामिकता दिइएको छ ।”

ठूलो योजनाअन्तर्गत रु ५० लाखको योजनामा महाकालीको सिलामेमा रहेको जानकी माविको भौतिक पूर्वाधार निर्माण, गाउँखर्कको माप्ले माविको पर्खाल निर्माण, तादी गाउँपालिकास्थित कोषगाढेको पहिरो नियन्त्रण गर्न, लिखु र पञ्चकन्यामा थालिएको सामूहिक तरकारी खेतीलाई प्रवद्र्धनका लागी कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्टाइएको छ ।

बजेटले निर्वाचन क्षेत्रभित्रका सबै जनताले मागेका योजनाको सम्बोधन गर्न नसके पनि सम्बन्धित स्थानीयतहका सरोकारवाला, स्थानीयतहको गाँउसभामार्फत् प्राथमिकतामा रहेका योजना, कार्यक्रम परामर्श समितिको बैठकलगायतको सुझाव समावेश गरेको सांसद तामाङले बताउनुभयो ।

पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडा सम्बन्धित स्थानीयतहका सरोकारवाला, सरकारी निकाय, स्थानीयतहले प्रथामिकतामा राखेका योजनाका विवतरण सङ्कलन, स्थानीयतहका प्रमुख–उपप्रमुखलगायतसँग छलफलमार्फत राय एवं सुझाव सङ्कलनको क्रममा रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button