तपाईँ सुन्दै हुनुहुन्छः

जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

जापान। युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गर्नुभएको छ ।‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पार्नुभएको हो ।

युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गर्नुभएको थियो । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए ।

जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहनुभएका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुनुहुन्छ । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुनुहुन्छ । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उहाँले अभ्यास गर्दै आउनुभएको छ । उहाँले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल हुनुभएको थियो ।

यसैगरी एक खेल बराबरीमा रोकिएको उहाँको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिनुभयो । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ ।”

सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button