तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने

मेलम्ची। मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्काेतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक विभाग र आयोजनाबीच सम्झौता भएको थियो ।

काठमाडौँका चोकमा एउटा दिशाबाट अर्काे दिशामा पाइप लैजानका लागि क्रसिङ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब काम अघि बढाइने परियोजना निर्देशक भोजविक्रम थापाले बताउनुभयो ।

उक्त स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी क्रसिङ निर्माण नभए पनि अहिले निर्माणका लागि सहमति भइसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक विभागसँग सहमति लिइसकेकाले अब चाँडै काम शुरु हुनेछ ।” आयोजनाको सुरुङमार्ग निर्माण ९५ प्रतिशत सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ ।

मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण भइरहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताका घरघरसम्म पु¥याउने काम रहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ ।

मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड लिटर पानी सङ्कलन तथा वितरण हुँदै फोहरपानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको बताइएको छ । सो चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button