तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना

कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामानै पहिलोपटक उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो ।

‘हिल्फे बेलिङ्ग्रिस इ भि जर्मनी’को रु ४६ लाखको सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताउनुभयो । २०० पोका रगत सङ्कलन गर्न सकिने गरी ‘डि’ समूहको रक्त सञ्चार केन्द्र स्थापना गरिएको सभापति न्यौपानेले बताउनुभयो ।

रक्त सञ्चार केन्द्र सञ्चालन गर्न तत्कालका लागि प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले गर्ने छ । केही समयपछि स्थानीय स्तरबाटनै प्राविधिक उत्पादन गर्ने गरी तालीम प्रदान गरिने सभापति न्यौपानेले बताउनुभयो ।

रक्त सञ्चार स्थापना भएसँगै नवलपरासीपूर्व नवलपुरमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने भएको छ । नवलपुरमा दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने छ । जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भए पनि यहाँ रहेका अस्पतालमा सङ्कलित रगत खपत हुने अवस्था नरहेकाले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरमार्फत चितवनमा रगत पठाइने उहाँले बताउनुभयो ।

‘डिप बोरिङ’ शिलान्यास    
असी बिघा क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले देवचुली नगरपालिका–११, धारापानीमा ‘डिप बोरिङ’निर्माण गरिने भएको छ । देवचुली नगरपालिकाको आर्थिक सहयोगमा खेतीयोग्य जमीनको सिँचाइका लागि ‘डिप बोरिङ’निर्माण गर्न लागिएको हो ।

नगरपालिकाको करीब रु ३३ लाखको सहयोगमा डिप बोरिङ निर्माण गर्न लागिएको देचवुली–११,का वडाध्यक्ष रमेश ठाडाले बताउनुभयो । ‘बोरिङ’को आइतबार शिलान्यास गरिएको छ ।

यसै आर्थिक वर्षभित्रमा काम सम्पन्न गरी वडाका खेतीयोग्य जमीनमा सिँचाइको व्यवस्था गरिने उहाँले बताउनुभयो । ‘डिप बोरिङ’निर्माणपश्चात् यस क्षेत्रमा सिँचाइका लागि थप सुविधा पुग्ने र यसले विभिन्न बालीको उत्पादन बढाउन सहयोग पु¥याउने वडाध्यक्ष ठाडाले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button