२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको निर्वाचन परिचालन कमिटी गठन 

रेडियो नेपाल २०७६ कार्तिक १७ गते १५:२३

भक्तपुर –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ का इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताउनुभएको छ ।

नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा उहाँले पार्टीका इमान्दार नेता हरिशरण लामिछानेको निधन भए पनि उहाँको योगदान, त्याग र निष्ठाको राजनीति जीवितै रहेकाले नेकपाको जीत सुनिश्चित रहेको बताउनुभयो ।

नेत्री शाक्यले पार्टीले जो सुकै व्यक्तिलाई टिकट दिए पनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले उम्मेदवारको विषयमा नअल्झी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रत्येक मतदातासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा यसपटक पनि चुनाव जित्नेमा पार्टी ढुक्क भएको बताउनुभयो ।

कार्यक्रममा पुर्व मन्त्री एवम प्रतिनिधि सभा सदस्य महेश बस्नेतले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवार विजयी हुनेमा दुईमत नरहेको बताउँदै विपक्षीको गलत चलखेललाई निस्तेज पारेर नेकपा अगाडि बढ्ने धारणा राख्नुुभयो । उहाँले सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाउँदै जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का पार्टी सह–इन्चार्जलगायतका पदाधिकारी, भक्तपुर जिल्ला कमिटीका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोम मिश्र, भक्तपुरबाट प्रतिनिधित्व गर्ने नेकपाका प्रदेशसभा सदस्य, भक्तपुरमा रहेका नेकपा प्रदेश नं. ३ का सदस्य, नेकपाबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ ।

कार्यक्रमका सभापति एवम् नेकपा भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

चुनाव प्रचार समिति, व्यवस्थापन समिति, आर्थिक समिति, युवा समिति, मञ्च व्यवस्थापन समिति, र्याली व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिएको छ । पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डिपी ढकाल र नारायणी फुयाँलको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।
रासस

सम्बन्धित