तपाईँ सुन्दै हुनुहुन्छः

वायुले दिल्ली दिउसै बन्यो अन्धकार, सरकारले लगायो संकटकाल घोषणा(तस्विर सहित)

नयाँदिल्ली – नोभेम्बर महिनासँगै भारतको राजधानी नयाँदिल्लीमा बढेको तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

दिल्लीस्थित राज्य सरकारले ५० लाख मास्क वितरण गर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास चेम्बर’ मा परिणत भएको टिप्पणी गरेका छन् । अघिल्ला वर्ष पनि यसै सिजनमा वायु प्रदुषण बढ्ने गरेको थियो ।

सामाजिक सञ्जालमा भने सरकारले बारम्बार हुने समस्या समाधान गर्न नसकेको भन्दै आलोचना गरेका छन् । दिल्लीको धुलाम्मे वायुमण्डलको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै विरोध जनाइएको हो ।

नोभेम्बर र डिसेम्बरमा दिल्लीका छिमेकी राज्य पन्जाब र हरियाणाका किसानले अन्नवाली भित्र्याएपछि खेतमा ठुटा पोल्ने गर्छन् । सोही कारण ठूलो मात्रामा धुवाँ वायुमा मिसिएपछि विषाक्त बन्ने गरेको विज्ञको भनाइ छ ।

बिबिसीका अनुसार यसको असर नेपालसम्मै पर्नसक्छ । सौराहा र लुम्बिनीमा यस सिजनमा प्रदुषण बढ्नुको कारण सीमापारबाट आउने वायु पनि कारक रहेको बिबिसी नेपालीले जनाएको छ । अन्नपूर्ण

भारतमा पाँच दिनका लागी संकटकाल घोषणा

वायु प्रदुषणको अवस्था खतराजनक अवस्थामा पुगेपछि नयाँदिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ। भारतको सर्वोच्च अदालतबाट अनुमतिप्राप्त एक कार्यदलले शुक्रबार दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उक्त घोषणासँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ सम्म राजधानीका दिल्लीका विद्यालय बन्द हुने घोषणा गरेका छन्। दिल्ली क्षेत्रका धेरै ठाउँमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर पुगेपछि त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको हो।

त्यस्तै वातावरण प्रदुषण नियन्त्रण तथा नियमण प्राधिकरणले पनि ५ नोभेम्बरसम्म दिल्ली, नोएडा, गुरगाउँ र गाँजियावाद क्षेत्रमा निर्माणका काम पूर्ण रुपमा रोक्न आदेश दिएको छ। वायुको गुणस्तर ५ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुग्नुलाई गम्भीर अवस्था मानिन्छ।

  

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button