तपाईँ सुन्दै हुनुहुन्छः

काफलडाँडास्थित करबाकेलीमाब सङ्ग्रहालय निर्माण शुरु

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडास्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण शुरु भएको छ । परम्परागत सामग्रीको संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धनका लागि करबाकेली संरक्षण समितिले सङ्ग्रहालय निर्माण शुरु गरेको हो ।

म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको निर्माण समितिका अध्यक्ष चामबहादुर पुनले बताउनुभयो ।

“चन्दा सहयोग जुटाएर सङ्ग्रहालय बनाउन लागिएको होे”, अध्यक्ष पुनले भन्नुभयो, “परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्कने किसिमको भवन बनाउने काम करीब आधा सकिएको छ, आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ ।” भवनमा रु ४५ लाख र सामग्री खरीद गर्न रु १५ लाख लागत अनुमान गरिएको छ ।

उहाँका अनुसार हालसम्म करीब रु २२ लाख सहयोग जुटाएर भवन निर्माणमा खर्च भइसकेको छ । हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । अन्नपूर्ण गाउँपालिकाले सङ्ग्रहालयलाई यस वर्ष रु पाँच लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

पुन समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज, सभाहल र खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् । मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ ।

करबाकेलीसम्म पुग्ने करीब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करीब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ कोठा रहेको उक्त होटलमा एक दिनमा ५० भन्दा बढी पाहुना बास बस्न सक्ने सञ्चालक रवि गर्बुजाले बताउनुभयो ।

समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ«े, अन्नपूर्ण, टुकुचेलगायत १० हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रस्वास्वादन गर्न पाइने पदमार्गका संयोजक यामबहादुर पुनले बताउनुभयो ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button