तपाईँ सुन्दै हुनुहुन्छः

‘तिहारको चार दिनमा १० अर्बको सुनचाँदी कारोबार’

काठमाडौं । विगत लामो समयदेखि मूल्यवृद्धिको कारण सुस्ताएको सुनचाँदी बजार तिहारमा भने उत्साहित भएको छ । तिहारका चार दिनमा मात्रै १० अर्ब हाराहारीमा सुन तथा चाँदीको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रारम्भिक विवरण अनुसार करिब ७ सय किलो सुन र ५ हजार किलो हाराहारीमा चाँदीको व्यापार दशै तिहारको सन्र्दभमा भएको छ ।

यस अवधिमा बैंकहरुमा रहेको ७ सय किलो सुनको स्टक सकिएर २ सय किलो सुनको आयात भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले मूल्य ७० माथि नै भएको भए पनि तिहारमा भएको सुन र चाँदिको कारोबारले व्यवसायी उत्साहित भएको बताउनु भयो ।

तिहारमा सुन र चाँदीको समग्र कारोबार १० अर्ब रुपैयाँको भएको अनुमान गरिएको र कारोबार गत वर्षको तुलनामा ५० प्रतिशत कमि भए पनि सन्तोषजनक भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्ले जानकारी दिनुभयो ।

तिहारमा धन तेरसका दिन सबैभन्दा धेरै सुन र चाँदीको कारोबार भएको थियो । त्यस दिन ग्राहकहरूले सिक्री, सुन र चाँदीको सिक्का पैसा, बाला, चाँदीका अम्खराजस्ता सामान धेरै किनेका थिए ।

धन तेरसका दिन सुन र चाँदीका गहना किनेमा घरमा लक्ष्मीको बास हुन्छ भन्ने भन्ने मान्यता पछिल्लो समय नेपालमा पनि फस्टाउदै गएको छ ।

तिहारमा उच्च व्यापार हुँदा सुनको भाउ प्रतितोला ७१ हजार हाराहारी थियो भने चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button