तपाईँ सुन्दै हुनुहुन्छः

अस्ताउदो सुर्यलाई अर्घ दिने कार्य सम्पन्न; तराई छठमय

बीरगंज – छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिईएको छ । अहिले साँझ विरगंज तथा बारा पर्सा रौतहट लगायतका जिल्लाका छठघाटहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ ।

ब्रतालुहरु छठघाटमा पुगेर अहिले साँझ अस्ताउदो सुर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन् । अधिकांश ब्रतालुहरु रातभर जागराम बसी भजनकिर्तन गर्ने गर्दछन । छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्धेश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदायलगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।

पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने छठ पर्वको आज मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र भोली (आइतबार) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।

छठ पर्वमा बाँसको ढक्की, नांगलो माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु तिन दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यसैविच प्रदेश २ सरकारले भोली (आईतबार) पनि सार्वजनीक बिदा दिएको छ । यसैगरी छठपर्वको लागी बीरगंज तथा वारा, पर्सा रौतहटका पोखरी, जलासय तथा नदि नाला दुलही झै सिंगारिएका छन् ।

बिहानदेखि बिरगंज तथा बारा,पर्साका बजारका पसलहरुमा छठका गितहरु गुन्जिएका छन् । यतिखेर तराई छटमय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button