तपाईँ सुन्दै हुनुहुन्छः

सुतिया नदीमा जलकुम्भी भरिएपछि नदि आसपासका हजारौँ किसानहरु मर्कामा

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका ८ र १० नम्बर वडा हुँदै भारततर्फ बग्ने सुतिया नदीमा जलकुम्भी भरिएपछि नदी आसपासका हजारौँ किसानहरु मर्कामा परेका छन् ।

नदीमा अत्यधिक जलकुम्भी भरिएपछि नदीको पानी किसानका खेतमा जम्मा भएको बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्द कुमार रानाले बताउनुभयो ।

उहाँका अनुसार नदी आसपासका क्षेत्रमा किसानले लगाएको उखु डुवानमा परेको छ भने गहुँ, तोरी तथा दलहन लगाउने समयमा खेतमा पानी भरिएपछि किसानहरु चिन्तित भएका छन् । बेलौरी नगरपालिका वडा नम्बर ८ को धेरै र वडा नम्बर १० को केही भूभागमा नदीले क्षति पुगाएको वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरीले बताउनुभयो ।

यसैबीच शुक्रबार सुदूरपश्चिम प्रदेशसभा सदस्य कुलबीर चौधरीको नेतृत्वमा उक्त प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । बेलौरीको कानपुरदेखि भारतीय क्षेत्र बजारघाट र क्रसर शारदापुरीसम्म स्थलगत अनुगमन गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)संगसमेत सोही विषयमा छलफल भएको सशस्त्र प्रहरी बल बडर आउट पोष्ट बेलौरीका प्रहरी निरीक्षक रोशन नाथले जानकारी दिनुभयो ।

नेपालतर्फ महाकाली सिंचाईको नहरले पानी सुतिया नदिमा छोडेको र भारततर्फ बजारघाटमा बनाइएको ह्युमपाइपबाट पानीको बहाव घटेर पानी निकास कम हुनु मुख्य कारण रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका जिल्ला सदस्य पल्लव राज भट्टको ठम्म्याई छ ।

भारततर्फ भारतीय क्षेत्रका जनप्रतिनिधि र नेपालतर्फ नेपाली जनप्रतिनिधिहरुको सकृयतामा दुवै देशका नागरिकहरु मिलेर नदीमा जमेको जलकुम्भी सफा गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । स्थानीय पीडित जनताले आफुसंग समस्या राखेपछि प्रदेशसभा सदस्य, महाकाली सिचाईका क्षेत्रिय अध्यक्ष, सशस्त्र प्रहरीसमेतलाई बोलाई स्थलगत अनुगमन गरिएको उहाँले दाबी गर्नुभयो ।

त्यस्तै, यस विषयमा महाकाली सिंचाई कार्यालयमा छलफल गरी तत्काल सुतिया नदीमा पानी नछोड्ने र भारतीय पक्ष संग समन्वय गरी नदी सफाइ गर्ने महाकाली सिंचाईका क्षेत्रीय अध्यक्ष बीरबहादुर बडवालले बताउनुभयो । सोही विषयमा भारतीय पक्ष पनि सकारात्मक देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button