तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्ष २०२० मा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट

काभ्रेपलाञ्चोक । आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् ।

होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो । “हामीले भ्रमण वर्षभर बाह्य तथा आन्तरिक पर्यटकलाई खान र बस्नका लागि २० प्रतिशत छुट दिने निर्णय गरेका छौँ”, होसानका अध्यक्ष केशवप्रसाद बडालले भन्नुभयो ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पातलेखेत होमस्टेका सञ्चालनसमेत रहनुभएका बडालले विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाट नेपालमा भ्रमण वर्ष मनाउन तथा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य पुग्नका लागि पर्यटक पठाउन अनुरोधसमेत गरिएको बताउनुभयो । होसानका अनुसार हाल देशका ५७ जिल्लामा घरवास सञ्चालनमा छन् ।

होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने कार्यक्रम तय गरेको छ । “हामी भ्रमण वर्षमा मात्रै होइन, अरु वर्षहरुमा पनि पर्यटक आउने गरी सेवा दिन चाहन्छौँ, हामी पर्यटक भित्र्याउने महत्वूर्ण संस्थाका रुपमा परिचित हुन चाहिरहेका छौँ”, होसानका अध्यक्ष बडालले भन्नुभयो ।

पर्यटकलाई आकर्षित गर्न स्थानीय कृषि उपजलाई नै होमस्ेटमा प्रयोग गरिनेछ । बडालले भन्नुभयो, “यसबाट स्थानीय बासिन्दा स्थानीय उत्पादनमा आकर्षण हुनुका साथै जैविक उत्पादनले बजार पाउँछ ।” सकेसम्म रैथाने बालीलाई घरवासमा प्रयोग गरी ठूला होटल, रेस्टुराँभन्दा फरक परिकार दिने अभियानमा घरवास पर्यटन व्यवसायीहरु रहेको उहाँले बताउनुभयो । पछिल्लो समय कर्णाली प्रदेशमा घरवास पर्यटन प्रवद्र्धनमा आफूहरु लागिरहेको बडालले बताउनुभयो ।

व्यवस्थित एवं स्वस्थकर परिकारको सेवा दिलाउन देशभरका निजी तथा सामुदायिक घरवास पर्यटनको अनुगमन गरिने भएको छ । केहीले स्वीकृति पाएभन्दा बढी कोठा राख्ने, पाहुनालाई अव्यवस्थितरूपमा राख्ने र घरवास पर्यटनको स्वीकृति लिई सोही आवरणमा होटल चलाउने पाइएकाले भ्रमण वर्ष लक्षित गर्दै अनुगमन गर्न आवश्यक रहेको अध्यक्ष बडालले बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेको अनुगमनपछि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश पनि गर्नेछौँ, यसबाट देशभरको घरवास पर्यटन अभियान प्रभावकारी बन्नेछ ।”

सरकारले जारी गरेको होमस्टे सञ्चालन कार्यविधि–२०७३ अनुसार तत्कालै अनुगमन थालिने योजना होसानले बनाएको छ । सरकारले दिएको कर छुट पाउनकै लागि होटललगायत पर्यटन व्यवसायीले अवैध रुपमा घरवास पर्यटन सञ्चालनमा ल्याएको गुनासो होसानमा आएको बताइन्छ । “नियमित अनुगमन नहुँदा फाइदा उठाइरहेका छन्, अुगमनपछि कार्यविधिले तोकेअनुसारको मापदण्ड पुगेका होमस्टे मात्रै सञ्चालनमा आउनेछन्” अध्यक्ष बडालले भन्नुभयो ।

ग्रामीण भेगका बासिन्दाको स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पूर्वाधारको दिगो विकास गर्न नेपालमा विसं २०६७ देखि घरवास पर्यटन शुरु गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button