२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा मकै जोनको क्षेत्र बिस्तार

रोशन तिवारी २०७६ कार्तिक १५ गते ८:५४

पर्वत । पर्वतमा मकै जोनको क्षेत्र बिस्तार भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत फलेवास नगरपालिकाका ५ वडा समेटेर बनेको जोन अहिले फलेवासका सबै वडा सहित महाशिला र विहादी गाउँपालिकासम्म बिस्तार भएको हो । तीन वटा स्थानीय तहमा बिस्तार भएको जोनको क्षेत्रफल बढेर एक हजार हेक्टर पुगेको छ ।

विसं २०७३ सालमा फलेवासमा मकै जोन कार्यक्रम कार्यान्वयन हुँदा ५ सय ५३ हेक्टर जमिन मात्रै समेटिएको थियो । हालै महाशिला र विहादीमा जोनको क्षेत्रफल बिस्तार गरिएको मकै जोन फलेवासका बरिष्ठ कृषि विकास अधिकृत धनवहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार जोनमा समेटिएको क्षेत्रका किसानहरुको मकै उत्पादन समूह गठन भैसकेको छ ।

महाशिलामा १४ र बिहादीमा १२ वटा मकै उत्पादन समूह बनेका छन् । फलेवासमा ५७ वटा समूहमा आवद्ध किसानहरुले मकै फलाउँदै आएका छन् । फलेवासमा मकै उत्पादन राम्रो भएपछि अन्य क्षेत्र पनि समेटेर जोन क्षेत्र बिस्तार भएको कृषि विकास अधिकृत सुजित पौडेलले जानकारी दिनुभयो ।

फलेवासमा गतवर्ष २७ मेट्रिक टन मकै उत्पादन भएको थियो । मकै विक्री गरेर किसानले १२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ । जोन क्षेत्रका किसानहरुले खाने मकै र मुल बीउ उत्पादन गर्दै आएका छन् ।

किसानले उत्पादन गरेको मकै जोन कार्यालयले नै बजारीकरण गर्दै आईरहेको छ । तर, बाँदरले किसानलाई मकै उत्पादनमा चुनौती दिईरहेको छ । मकै उत्पादन बढाउने योजनामा रहेको कृषि कार्यालय र स्थानीय सरकारले बाँदर नियन्त्रणको ठोस योजना ल्याउन नसकेको भन्दै किसानहरु निराश हुँदै आएका छन् । मकै जोनमा बाँदरको उपद्रो बढ्दै गईरहेको अगुवा किसान विजयराज पौडेलले बताउनुभयो ।

पर्वतको देउपूरमा सुन्तला उत्पादन बढ्ने

पर्वत । पर्वतको मोदी गाउँपालिका २ देउपूरमा सुन्तला उत्पादन बढ्ने किसानहरुले बताएका छन् । गतवर्ष अधिकाँश सुन्तला असिनाले सखाप पारेर घाटा खाएका किसानहरु यो वर्ष मौसमले असर नगरेपछि राम्रो आम्दानी हुने आशामा रहेका छन् ।
यो सुन्तला पाक्ने मौसम हो । अहिले पनि पाहारिलो घाम लागेको हुनाले सुन्तला फल्ने फुल्ने र टिप्ने बेलामा मौसम राम्रो रहेकाले यसवर्ष उत्पादन राम्रो हुने अनुमान गरेको अगुवा किसान दाताराम तिमिल्सीनाले बताउनुभयो ।

देउपुरका कृषकले तीन बर्ष अघि ३ करोड मुल्यका सुन्तला बिक्री गरेका थिए । यस बर्ष पनि उत्पादन बढेका कारण ४ करोड भन्दा बढी भित्रने अपेक्षा रहेको कृषक तिमिल्सीनाले बताउनुभयो । देउपूरका एक सय ६० परिवारले व्यवसायिक सुन्तला उत्पादनमा क्रियाशिल छन् । विगत डेढ दशकदेखि कृषकहरुले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् ।

कृषकहरुले गाउँको सुन्तला माछापुच्छ्रे कृषि सहकारी मार्फत बजारीकरण गर्दै आएका छन् । कोदो र धान खेती मासेर सुन्तला रोप्ने अभियान चलाएका किसानहरुले यसबाट राम्रो आम्दानी गर्दै आएको किसान बाबुराम शर्माले बताउनुभयो ।

मोदी गाउँपालिकाले पनि उक्त क्षेत्रमा सुन्तला खेतीको बिस्तारका लागि अनुदान र विरुवा वितरण गर्दै आएको छ । सुन्तलाका विरुवा हुर्काउन टनेल प्रविधिमा पनि गाउँपालिकाले सहयोग गरेको देउपुरका वडाध्यक्ष विकास तिमिल्सीनाले जानकारी दिनुभयो । गत बर्ष मात्रै ७ हजार नयाँ बिरुवा रोपिएको उहाँले बताउनुभयो । कृषकलाई सिंचाईका लागि पाइप, मल , निलोतुथो, चुना सहयोग गर्दै आइएको पनि वडाध्यक्ष तिमिल्सीनाले बताउनुभयो ।

 

सम्बन्धित