तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन कार्यक्रमको आजदेखि शुभारम्भ   

जनकपुरधाम –   सङ्घीय एवं प्रदेश नं २ सरकारद्वारा संयुक्तरूपमा आजदेखि जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ ।

उप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतका व्यक्तित्वद्वारा जनकपुरधामको तिरहुतिया गाछी परिसरमा आयोजित विशेष समारोहमा सो कार्यक्रमको सामूहिक रूपमा शुभारम्भ गरिएको हो ।

सो अवसरमा मन्त्री उपेन्द्र यादवले सभ्यता, संस्कृति, भाषाले समृद्ध प्राचीन, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मिथिला नगरी जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन कार्यक्रमको शुभारम्भ सङ्घीय र प्रदेश सरकारबाट हुनु नेपालका लागि अनुकरणीय दृष्टान्त हो भन्नुभयो ।

उहाँले मिथिला नगरी जनकपुरधाम संस्कृति, सभ्यता, कलाले विख्यात रहेको विगतको इतिहासलाई जीवन्त राखी पर्यटकीय आकर्षणको स्थलका रूपमा प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको छ भन्नुभयो । मन्त्री यादवले दिनभर संस्कृतिप्रति आरूढ भए पनि साँझ परेपछि सांस्कृतिक विचलनका गतिविधिमा वृद्धि हुनु चिन्ताको विषय भएकाले मिथिला संस्कृतिको पुनःउत्थान र जागरणको आवश्यकतामा जोड दिनुभयो ।

मिथिलाप्रति संसारकै आकर्षण रहेको परिप्रेक्ष्यमा जनकपुरधामलाई हरित, स्वच्छ र सुन्दर बनाउन जरूरी भएको धारणा पनि उहाँले व्यक्त गर्नुृभयो । उहाँले प्रदेश नं २ मा पर्यटन उद्योगको अपार सम्भावना भएको चर्चा गर्दै पर्यटकीय गतिविधिलाई विस्तार गर्न तालीम, होटलको व्यवस्थापन र अतिथिलाई आदर र सत्कार गर्ने मनोविज्ञानमा सुधार अपरिहार्य भइसकेको छ भन्नुभयो ।

मन्त्री यादवले नेपाल प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र धार्मिक, सांस्कृतिक विविधताका दृष्टिले महत्वपूर्ण भएकाले यसप्रति संसारलाई आकर्षण गर्ने वातावरण निर्माणमा सबैको अग्रसरता आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सभ्यता ,संस्कृति र भाषाले समृद्ध मिथिला नगरी जनकपुरधामले सधैँ उन्नयनको सन्देश दिएको इतिहासलाई जीवन्त बनाउन जनकपुरधामबाट नै नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन कार्यक्रमको सङ्घीय र प्रदेश सरकारबाट संयुक्तरूपमा गरिएको छ भन्नुभयो ।

प्रदेश नंं २ मा सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनको सम्भावना सबैभन्दा बढी भएकाले यस प्रदेशलाई सांस्कृतिक र पर्यटकीय ‘हब’ बनाउन जरूरी भएको धारणा उहाँले राख्नुभयो । सांस्कृतिक, पर्यटकीय ‘हब’का रूपमा प्रदेशलाई प्रवद्र्धन गरिएमा रोजगारीमा वृद्धि र लगानीको वातावरण निर्माण हुने चर्चा गर्दै मन्त्री भट्टराईले प्रदेश नं २ मा पाँचतारे होटल निर्माण गर्न व्यवसायी उत्सुक रहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा भएका धर्मशालाको अवस्था जीर्ण भएकाले यसलाई आधुनिकीकरण, ताल तलैयाको संरक्षण गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य निकट भविष्यमा शुरू गरिने र यसलाई प्रदेश सरकारसँग हातोमालो गरी पूर्णता दिने बताउँदै प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल एशियाको ‘हब’ हुनेछ भन्नुभयो ।

सङ्घीयता झगडा गर्नका लागि नभएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रदेश सरकारसँग हातेमालो गरी अघि बढने उहाँले बताउनुभयो । मन्त्री भट्टराईले जनकपुरधाम सभ्य र सुसंस्कृत बस्दै आएको कुरालाई सिद्ध गर्न ७ बजे बन्द हुने अवस्थाको अन्त्य गरी राति १ बजेसम्म खुल्ला रहने व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने वातावरण निर्माणमा जोड दिनुभयो ।

प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, भ्रमण वर्षका प्रदेश संयोजक मनिष झाले प्रदेश नं २ मा जीवनको नजिक हुने पर्यटकीय सम्पदा, केन्द्र भएको उदाहरण प्रस्तुत गर्नुभयो ।

सो कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका कलाकारद्वारा सांस्कृतिक नृत्य एवं गायन पनि प्रस्तुत गरिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button