तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचार संहिता पालना गर्न सरकार प्रतिवद्धः उप-प्रधानमन्त्री पोखरेल

फाइल तस्बिर

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले निर्वाचन आचारसंहिताको पालना गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी एवं आचार संहिताका सम्बन्धमा निर्वाचन आयोगले आज गरेको छलफल कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका लागि सबै आवश्यक सहयोग सरकारले उपलब्ध गराइने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमीकमजोरी र गुनासालाई समीक्षा गर्दै आगामी दिनमा सरोकारवाला सबैले निर्वाचन आचारसंहिता दृढताका साथ पालना गर्नुपर्ने सुझाव दिनुभयो ।

छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले आयोगबाट जारी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाउनुका साथै आयोगलाई आचारसंहिता पालना गर्न गराउन गम्भिर हुन सुझाव दिनुभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button