तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश–२ मा बाल स्वास्थ्यको अवस्था संकटपूर्ण : मन्त्री यादव

सप्तरी – उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नम्बर २ मा मातृ र बाल स्वास्थ्यको अवस्था संकटपूर्ण रहेको बताउनु भएको छ । प्रेस नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले बाल मृत्युदर र गर्भवती तथा सुत्केरीको अवस्थामा हुने जटिलताको कारण ज्यान गुमाउनेहरुको दर प्रदेश २ मा उच्च रहेको बताउनुभयो ।

बच्चा गर्भमा रहेदेखि नै पोषणयुक्त खानाको अभावमा बालबालिकामा कुपोषणको अवस्था पनि प्रदेश २ मा उच्च रहेको बताउँदै मन्त्री यादवले गर्भावस्थादेखि जन्मिएको ३ वर्षसम्म बालबालिकालाई विशेष ध्यान दिइनुपर्ने बताउनुभयो । मातृ सुरक्षा र प्रजनन अधिकार कानुन एशियामै नेपालमा उत्कृष्ट रहेको बताउनुहुदैँ स्वास्थ्यमन्त्री यादवले नयाँ स्वास्थ्य नीतिअनुसार सरकार हरेक नेपालीलाई सुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ अस्पतालहरुको बिकास गरिइरहेको बताउनुभयो ।

उहाँले प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिरहामा क्यान्सर अस्पताल, वीरगन्जमा विशिष्ट सुविधासहितको अस्पताल र जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकसित गर्ने सरकारी योजना रहेको सुनाउनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश नम्बर २ का भूमी व्यवस्था र कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, समाजवादी पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादव लगायतका वक्ताल मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button