तपाईँ सुन्दै हुनुहुन्छः

मूर्ति विसर्जन विवाद : कपिलवस्तुमा कर्फ्यु आदेश, भिड नियन्त्रण गर्न अश्रूग्यास प्रहार

कपिलवस्तु । भारतीय सिमा बजार क्षेत्र कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहान ११ बजेदेखि कफर्यु आदेश जारी गरेको छ ।
कृष्णनगर नगरपालिका भित्र दिपावलीको लक्ष्मी पुजाको मूर्ति विसर्जनको विषयलाई लिएर स्थानीय समुदाय बीच विवाद भएपछि कृष्णनगर बजार क्षेत्रमा प्रशासनले कफुर्य लगाएको हो ।

मूर्ति विर्सजन कार्यमा स्थानीय समुदायबीच तनाव उत्पन्न भएपछि सम्भावित हुन सक्ने घटनालाई नियन्त्रण गर्न कफर्यू लगाइएको हो । भिडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ ।

कफर्यु कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्र भित्र अर्को आदेश नभए सम्मको लागि कफर्यु लगाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल भारतको सिमा क्षेत्रमा रहेको कृष्णनगर बजार क्षेत्रको दक्षिण तर्फ भारतीय बजार पर्ने भएकाले सुरक्षा निगरानी कडा बनाइएको छ ।
कृष्णनगर बजार क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी गरी ५ सय बढि परिचालन गरिएको छ । मूर्ति विसर्जन कार्यलाई सहज बनाउन जिल्लाका सुरक्षा अधिकारीको वैठक तथा आपसी समन्वयको काम अघि बढेको बताइएको छ ।

यसैबीच घटनामा संलग्न सवै पक्षलाई संयमित हुन नेपाल पत्रकार महासंघ कपिलवस्तुले आग्रह गरेको छ । विगतमा जस्तै सिमाक्षेत्रमा हुनसक्ने साम्प्रदायिक घटना प्रति कृष्णनगरबासी, सुरक्षा निकाय तथा मिडिया जगत सचेत भई सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न आग्रह समेत गरेका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button