२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

दर्जन गाँउका तीन हजार बढी जनता कृषि पेशाबाट आत्मनिर्भर

रेडियो नेपाल २०७६ कार्तिक १३ गते १८:३६

म्याग्दी । म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृषिपेशाबाट नै आर्थिक रुपले आत्मनिर्भर भएका छन् ।

अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता अनाज उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमीन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्ण रुपमा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिक रुपमा उत्पादन गर्न सकेका छैनन् भने सात प्रतिशत जनताले व्यावसायिक रुपमा नै कृषि पेसा अंगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषिबाट नै एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएको जानकारी दिनु भयो ।

त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रबहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटा लगायतका कृषकले व्यावसायिक कृषिबाट नै करोडौँ रुपैयाँ कमाउन सफल हुनुभएको छ ।

म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक ४७ करोडभन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्दले जनाएको छ ।

सम्बन्धित