तपाईँ सुन्दै हुनुहुन्छः

ज्ञानेन्द्र मल्ल कप्तान नियुक्त

अजय बम । नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ ।

पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो । युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो ।

संक्रमणकालिन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाइ कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । तत्काल हुन लागेको एमसीसी विरुद्धको सिरीज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन ।

यसअघि पनि बारम्बार नेपाली टिमको कप्तानी गरिसकेका मल्लले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्ध र टी २० विश्वकप छनोटमा पारस खड्का घाइते भएपछि मलेसिया विरुद्ध कप्तानी गरेका थिए ।

हाल टिममा रहेका अनुभवी खेलाडी मल्लले सन् २००६ मा नामिबिया विरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका थिए । नेपाली क्रिकेटरमा क्लासिक ब्याट्सम्यानको परिचय बनाएका उनले अहिलेसम्म १५ वटा टी २० खेलेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button