तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिमाणमा अवैध लागुऔषध बरामद

बीरगंज– छठ पर्वमा विशेषरुपमा प्रयोग गरिने ढकिया भित्र लुकाएर नेपाल भित्र्याई रहेको अवस्थामा सशस्त्र प्रहरीले रौतहटको बंकुलबाट ठूलो परिमाणमा अवैध लागु औषध बरामद गरेको छ ।

भारतीय सिमानासँगै जोडिएको रौतहटको बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको गस्ती टोलीले आज बिहान लागुऔषध तस्करहरुले छठ पर्व मनाउन प्रयोग हुने बाँसको ढक्कीमा लुकाएर नेपालतर्फ ल्याईरहेको अवस्थामा अवैध लागु औषध डाईजिपाम, प्रोमेथाजिन, नर्फिन ईन्जेक्सन गरी कुल ११ हजार ७ सय पिस बरामद भएको सशस्त्र प्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिनुभयो ।

रौतहटको बंकुल बजारबाट करीव दुई किलोमिटर उत्तरतर्फ भकुवाखोलाको पुलछेउ मुख्य बाटोमा सशस्त्र प्रहरीले चेकजाँच क्रममा दुईवटा साईकलको पछाडी बाँसको ढक्कीभित्र बाँधेर दुई जनाले सामान ल्याइरहेका अवस्थामा सशस्त्र प्रहरीको चेकजाँच टोलीलाई देखेपछि तस्करहरु साईकल छोडेर भागेका थिए ।

सशस्त्र प्रहरी बंकुलले नियन्त्रण लिएको अवैध लागु औषध थप कारवाहीका लागि सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर जिल्ला मुख्यालयमार्फत भन्सार कार्यालय गौर पठाईएको सशस्त्र प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।

लागुऔषध ओसारपसार तथा बेचबिखन गर्ने तस्करहरुले विशेष गरि छठ पर्व मनाउन प्रयोग हुने ढकिया मार्फत अवैध लागु औषधको ओसारपसार गर्ने गरेको रहस्य यो घटनाले खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button