तपाईँ सुन्दै हुनुहुन्छः

गलैँचा बेचेर मासिक ४० हजार आम्दानी

मेलम्ची ३९ वर्षीय बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैंचा बुनेर बित्ने गरेको छ । घरको काम गरेर बचेको समय उहाँले गलैंचाको तानलाई दिने गर्नु भएको छ ।

शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा उहाँले यो पेशालाई व्यवसायिक बनाउनु भएको हो । घरमा नै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैंचा बुन्न सकिने भएकाले यो पेशाप्रति रुचि बढेको उहाँ बताउँनुहुन्छ । ‘पढाइ गर्न सकिएन, अरु सिप पनि नजानेकाले अहिले यसैमा सन्तुष्ट छु,’ उहाँले भन्नुभयो, ‘यो काम बुढ्यौली उमेरसम्म गर्न सकिन्छ, मर्ने बेलासम्म पनि कमाउन सक्छु जस्तो लागेर यो काम रोजेँ ।’

एउटा गलैंचा बुन्न १५ दिनजति समय लाग्ने माइली बताउँनुहुन्छ । ‘यो सिप सिकेर घरबार धानेकी छु,’ उहाँ भन्नुहुन्छ, ‘सामान्य गलैंचा बेचेर पनि मासिक ४० हजारसम्म आम्दानी हुन्छ ।’ वर्ष दिनदेखि शुुरु गरेको गलैंचा बुन्ने कामबाट सहजै घर खर्च धान्ने आम्दानी हुने भएपछि उहाँ थप हौसिनु भएको छ ।

‘यो सिप सिकेर घरबार धानेकी छु,’ उहाँ भन्नुहुन्छ, ‘सामान्य गलैंचा बेचेर पनि मासिक ४० हजारसम्म आम्दानी हुन्छ ।’

२८ वर्षीय निशा तामाङको पनि दैनिकी गलैंचा कै कारण फेरिएको छ । गएको जेठबाट तानमा बस्न सुरु गर्नु भएको निशाले गलैंचा बुनेर कमाई बलियो बनाउन सक्ने भईसक्नु भएको छ । ‘पहिला समय त्यत्तिकै खेर जान्थ्यो, अहिले यसैले आत्मनिर्भर बनाएको छ,’ उहाँले भन्नुभयो , ‘एउटा गलैंचा तयार गर्न बढीमा महिना दिन लगाउँछु ।’

उहाँले तयार गरेको गलैंचा गाउँ मै आएर व्यवसायीले खरिद गर्ने गरेका छन्। त्यसैले पनि काम गरेर बिक्री नहोला भन्ने चिन्ता उहाँमा छैन् ।

माइली र निशामात्रै होइन शैक्षिक र आर्थिक रुपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैंचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन्। उनीहरुले पेशालाई व्यवसायिक बनाउन समूहमार्फत काम गर्छन् । संस्थागत रुपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरु संगठित बनेका हुन् । गलैंचा बुन्ने जनजाति महिलाहरुले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन् । ‘यही संस्थामार्फत गाउँका महिलाहरुलाई सिप प्रदान गर्ने गरेका छौं,’ समूहकी कोषाध्यक्ष विष्णुमाया तामाङ बताउँनुहन्छ, ‘गलैंचा बुन्न रुचि हुनेहरुलाई पहिले तालिम दिलाउँछौं ।’ उहाँले गाउँका महिलाहरु गलैंचाबाट सोचेजस्तो आम्दानी हुने थाहा पाएपछि यसतर्फ आकर्षित भएको बताउँनुहुन्छ ।

‘पहिला समय त्यत्तिकै खेर जान्थ्यो, अहिले यसैले आत्मनिर्भर बनाएको छ,’ उहाँले भन्नुभयो , ‘एउटा गलैंचा तयार गर्न बढीमा महिना दिन लगाउँछु ।’

उनीहरुमा यो सिप र जाँगर भने भूकम्पपछिको जीविकोपार्जनको लागि स्थानीय निकायबाट एक लाख ६० हजार र सामाजिक संस्था टुकी संघ सुनकोसीले ५० हजार रकम उपलब्ध गराएपछि सुरु भएको हो । सो रकमबाट गाउँमा गलैंचा उद्यम सुरु गर्नको लागि तालिम र आवश्यक अन्य कच्चा सामग्री खरिद गरिएको प्रगतिशील महिला उद्यमी समूहले जनाएको छ ।

गलैंचा बुन्नुको सिपप्रतिको आकर्षणले गर्दा यो टोलको झन्डै घरै पिच्छे महिला उद्यमी बनेका छन् । गलैंचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउँनुहुन्छ । गफगाफमा बित्ने समयलाई गलैचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उहाँको अनुभव छ ।

गलैंचा बुन्ने पेशा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलाहरुमा आकर्षण बढेको हो । शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेशामा लागेको उद्यमीहरुको भनाइ छ । गलैंचा बुन्ने उद्यमी बढेपछि यहाँका महिलाले आफै कारखाना खोल्ने उद्देश्य राखेका छन् ।

घुम्थाङभरका महिलालाई सक्षम बनाउनको लागि गलैंचा बुन्ने सिपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँनुहुन्छ। ‘जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिलाहरु जोखिममा पर्ने क्रम बढेपछि यो गाउँमै रोजगार दिलाउन यो कार्यक्रम सुरु गरिएको हो,’ उहाँ भन्नुहुन्छ, ‘आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरु बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नु परेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन् पनि यता आकर्षित गरेका हौं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button