तपाईँ सुन्दै हुनुहुन्छः

४ यूवाद्वारा आधुनिक डेरी उद्योग सञ्चालन

रोशन तिवारी, पर्वत । पर्वतको कुश्मामा ४ यूवा मिलेर आधुनिक डेरी उद्योग सञ्चालन गरेका छन् ।

उद्योग सञ्चालन भएपछि सिजनका बेला मिल्क होलिडेको मार खेप्दै आएका किसानलाई राहत भएको छ । मोदीकाली डेरी सञ्चालनमा ल्याएसँगै मिल्क होलिडेको अन्त्य भएको हो ।

मोदीकाली डेरी उद्योगमा दैनिक १२–१५ सय लिटर दूध संकलन हुन्छ । उद्योगमा संकलन र प्रशोधन भएको दूध पर्वत, बागलुङ, म्याग्दी र पोखरासम्म बिक्री हुँदै आएको छ ।

भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार पर्वतमा दुधको माग दैनिक ४५ सय देखि ५ हजार लिटरसम्म छ । तर, उत्पादन भने दैनिक ७ हजार लिटर हुने गरेको छ ।

बढी भएको दूध संकलन गरी बजारीकरण गर्ने कुनै पनि उद्योग नहुँदा समस्या भैरहेका बेला मोदीकाली डेरी उद्योग सञ्चालन भएपछि किसानलाई सहज भएको हो ।

गाउँगाउँबाट पोखरा पठाउँदै आएका किसानले अहिले यही उद्योगमा दूध विक्री गर्न थालेका छन् । उद्योगमा दैनिक २५ सय लिटर दूध संकलन गर्ने क्षमता छ ।

उद्योगले बागलुङको दमेक, जैमिनी र टार तथा पर्वतको साइकलचोक, बनौं र अर्मादीबाट दैनिक दुई सय किसानको दुध संकलन गरेर ल्याउँछ ।

किसानदेखि उद्योगसम्म प्रत्यक्ष, अप्रत्यक्ष तीन सय जनालाई रोजगारी दिएको सञ्चालक सूर्यप्रसाद शर्माले बताउनुभयो ।

बजारमा भैंसीको दूध बढी माग हुने भएकाले उद्योगबाट दैनिक हजारदेखि १५ सय लिटर दूध बिक्री गर्न समस्या नभएको सञ्चालक शर्माले जानकारी दिनुभयो ।

वार्षिक रुपमा ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान सहित उद्योग सञ्चालन गरेको शर्माले बताउनुभयो ।

डेरीमा बागलुङको जैमिनी कुस्मिसेराका दिनानाथ शर्मा, छिस्तीका सूर्यप्रसाद शर्मा, जलजला ८ नाग्लीवाङका माधव सुवेदी र कुस्मा ३ दुर्लुङका हरिप्रसाद सुवेदीको लगानी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button