तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्समा शक्तिशाली भूकम्प 

मनिला  – दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण दुई व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका अधिकारीहरुले बताएका छन् ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

फिलिपिन्समा वर्षैभरि पटकपटक भूकम्प जाने गरेको छ । यहाँ बर्सेनि भूकम्पका कारण जनधनको क्षति हुने गरेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यो भूकम्प ६.६ म्याग्नीच्यूडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए ।

पटकपटक परकम्प गएका कारण स्थानीयवासीमा तनाव सिर्जना भएको थियो । मानिसहरु पुनः शक्तिशाली भूकम्प आउने भयका कारण घरभित्र जान समेत डराएका थिए ।
भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गराएको छ ।

दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो ।

रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button