तपाईँ सुन्दै हुनुहुन्छः

खड्काद्वारा राजीनामाबारे क्यानलाई औपचारिक जानकारी

राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेको १४ दिनपछि पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक जानकारी गराएका छन् ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइतबार इमेलमार्फत क्यानलाई कप्तान पदबाट राजीनामा दिएको बताउनुभयो । गत कार्तिक ३ मा बसेको क्यानको बैठकले पारसलाई राजीनामाबारे प्रष्ट पार्न पत्र पठाएको थियो ।

सोसियल मिडियामा आफुले कप्तानी पद त्यागेको घोषणा गरेपछि सबैलाई स्तब्ध बनाएका पारसको आधिकारीक भनाई क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रष्ट पार्न भन्दै पत्र पठाएको थियो ।

त्यसका जवाफमा पारसले इमेल मार्फत क्यानलाई आफ्नो राजिनामाका बारेमा सोसियल मिडियामा आएको सही भएको उल्लेख गरेका छन । पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग कठिन भएको पनि महासचिव प्याकुरेलले जानकारी गराउनुभयो ।

उनले आफ्नो चाहना अनुसार कप्तानी पदबाट राजिनामा दिएको र अब क्यानले यसको प्रक्रियाका बारेमा छलफल गरेर निस्कर्ष निकाल्ने छ ।

पारसले राजिनामा दिएपछि अबको कप्तान को भन्ने धेरै प्रश्नहरु उठिरहेका बेला अहिलेको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर नै पहिलो रोजाईमा पर्ने सम्भावना छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ मा लगाएको प्रतिबन्ध ससर्त रुपमा गत असोज २६ मा फुकुवा गरेको थियो । क्यान निलम्बन फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका थिए ।

पारस नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । सन् २००९ मा कप्तान बनेका पारसले डिभिजन ५ देखि टि ट्वान्टी विश्वकप हुँदै वान डे मान्यता सम्मको ठूलो सफलता दिलाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button