२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा पहिलो पटक व्यावसायिक फूल खेती

रोशन तिवारी २०७६ कार्तिक ११ गते १२:५६

पर्वत – पर्वतका केही युवा मिलेर पहिलो पटक व्यवसायिक फूल खेती गरेका छन् । सदरमुकाम कुश्मामा छ जनाको लगानीमा फूल खेती गरिएको हो । स्थानीय टंकनाथ पौडेल, बिष्णु गिरी, गिता शर्मा, सपना शर्मा, राम सुबेदी र लक्ष्मी पौडेलले पहिलो पटक फुलको व्यवसायिक खेती गरेका हुन् । कुश्मा–६ बगैंचाचोक र कुश्मा–२ खुर्कोटमा गरी उनिहरुले छ रोपनी जग्गामा सयपत्री फुल लगाईएको छ ।

 

भारतिय र प्लास्टिकको मालामा भर पर्दै आएका कुश्माका उपभोक्ताले यो वर्ष स्थानीय माटोमै फुलेको सयपत्रीको माला प्रयोग गर्न पाएका छन् । गत असारमा पोखराबाट फुलको हाइब्रिड बिउ ल्याएर रोपेको गिता शर्माले बताउनुभयो । सयपत्री फूलबारीबाटै प्रति किलो पाँच सयमा बिक्री भइरहेको शर्माले बताउनुभयो । यसवर्षको तिहारमा हालसम्म एक लाख रुपैयाँको फूल बिक्री भइसकेको लगानीकर्ता टंकनाथ पौडेलले बताउनुभयो ।

सानो बजार भएकोले पर्वतमा तिहारका बेला मात्रै फूलको माग भएको उहाँले बताउनुभयो । त्यसबाहेक जिल्लामा अरु सिजनमा हुने बिभिन्न औपचारिक कार्यक्रमहरुमासमेत माला बनाएर बिक्री गर्ने सोंच बनाएको पौडेलले बताउनुभयो ।

तिहारमा मात्रै पर्वतमा करिव पचास लाखको फुल र मालाको कारोबार हुने अनुमान छ । कुश्माका फुल व्यवसायी शिवकुमार श्रेष्ठका अनुसार जिल्लामा फुलको व्यवसायिक कारोबार नहुँदा बाहिरी फूलकै भर पर्नुपर्ने बाध्यता अझै पनि कायमै छ ।

पछिल्ला केही वर्षयता कुश्मामा हुने हरेक कार्यक्रममा चाइनिज खादाको सट्टामा फूलमालाको प्रयोग बढ्दो छ । बजारक्षेत्रमा हुने कार्यक्रमलाई लक्षित गरेर पनि अब पुष्प व्यवसाय राम्रो फस्टाउने व्यवसायि बताउँछन् ।

सम्बन्धित