तपाईँ सुन्दै हुनुहुन्छः

खैरहनीबाट २० जुवाडे पक्राउ   

भरतपुर, ११ कात्तिक  – पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । उनीहरुको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।

बसको ठक्करबाट एकको मृत्यु    
चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालक खैरहनी–१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यसैगरी नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतबार अपराह्न ४ बजे हाम फालेका अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला पारिएको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button