तपाईँ सुन्दै हुनुहुन्छः

सिन्ती झरनामा आन्तरिक पर्यटकको घुइँचो

चितवन – चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ ।

पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । झरनामा अहिले दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पूर्वमा रहेको यो झरना पुग्न शक्तिखोरहुँदै दोगरासम्म गाडी चढेर जान सकिन्छ । शक्तिखोर–सिद्धी सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको दूरीमा रहेको सिन्ती झरना पैदल हिँडेर ४५ मिनेटमा पुग्न सकिन्छ । चितवनको गर्मीले आत्तिएकालाई शीतल आनन्द दिने सबैभन्दा नजिकको झरना बनेको छ सिन्ती । सिन्ती झरनाले त्यहाँ पुग्ने सबैको मन लोभ्याउने गरेको छ ।

भरतपुरबाट पहिलोटक सिन्ती झरना आउनुभएका रोशन पौडेल सिन्तीको शितलताले मन चङ्गा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उकालो चढ्दा यो बाटो फर्किएर आउँदिन भन्ने लागेको थियो तर सिन्तीमा आइसकेपछि सबै बिर्सिएँ ।” उहाँले झरना क्षेत्रमा आवश्यक पूर्वाधार र व्यवस्थापनको अभाव रहेको त्यसमा ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो ।

महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्ती खोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको स्थानीयवासी बताउँछन् । झरनाको लम्बाइ करीब ४० मिटर र चौडाइ करीब सात मिटर छ । सिन्तीको तल्लो तहमा पोखरी छ । सिन्तीमा जाडोको तीन महिनाबाहेक अन्य समयमा यहाँ पर्यटकहरु आउँछन् ।

झरनामा रमाउन र नुहाउनका लागि मानिस समूह–समूह बनाएर आउने गरेको कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले बताउनुभयो । यहाँ आउने अधिकांश पर्यटक आन्तरिक हुने गरेको उहाँले बताउनुभयो । झरनामा क्यानोनिङका लागि विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० निर्माणको काम भइरहेको पुरीले जानकारी दिनुभयो ।

पर्यटकको संख्याा दैनिकरूपमा बढ्दै गएपछि नगरपालिकाले पनि पूर्वाधार निर्माणमा जोड दिएको छ । गत वर्षको बजेटबाट झरना नजिकै पुरुष र महिलाको छुट्टाछुट्टै कपडा फेर्ने कोठा, दुई स्थानमा शौचालय र झरनासम्म पुग्ने सिँढी सुधारको काम गरेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताउनुभयो ।

चालू आर्थिक वर्षमा नगरपालिकाको तर्फबाट रु ४० लाख र प्रदेश सरकारको तर्फबाट रु ६० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा सिन्ती झरनालाई जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्ने प्रमुख श्रेष्ठको धारणा छ ।

“यस वर्ष झरनामा आवश्यक भौतिक संरचनासँगै व्यवस्थापनमा ध्यान दिन्छौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “कर्मचारी राखेर दैनिक सरसफाइसमेत गर्छौं।” उहाँले पर्यटकबाट केही शुल्क उठाएर भए पनि व्यवस्थापनको पक्षमा ध्यान दिइने उल्लेख गर्नु भयो ।

स्थानीयवासी तिलक मगरले सिन्ती झरनामा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा काम गर्नुपर्ने बताउनुभयो । “पर्यटकलाई आउने बाटो सजिलो बनाउने हो भने अझै धेरै पर्यटक यहाँ आउँछन्”, उहाँले भन्नुभयो । पहिले सुनसान हुने झरना क्षेत्रमा अहिले पर्यटकको चहलपहलले उत्साहित बनाएको उहाँको भनाइ छ ।

यस वर्ष नगरपालिकाले झरनाको द्वार निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थल, वनभोजस्थललगायतका संरचना निर्माण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार एवं निर्माण गर्नेजस्ता योजना नगरपालिकाले बनाएको उहाँले बताउनुभयो । “सिन्ती झरना नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो”, उहाँले भन्नुभयो, “पहिलो प्राथमिकतामा राखेर हामीले काम गर्छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button