तपाईँ सुन्दै हुनुहुन्छः

दोविल्ला–फलेवास सडक कालोपत्र शुरु

पर्वत–  पर्वतको कुश्माबाट फलेवास नगरपालिका जोड्ने ग्रामीण सडकमा कालोपत्र शुरु भएको छ । मल्याङ्दीखोलाबाट फलेवासको देबिस्थानसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । उक्त सडक जिल्लाकै सबैभन्दा बढि सवारी चल्ने र धेरै स्थानीय तह जोड्ने सडक हो ।

प्रादेशिक सडक क बर्गमा परेको यो सडक एक निर्वाचन क्षेत्रमा एक सडक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३४ करोड ६० लाख ६१ हजार १ सय ७६ रुपैयाँमा कालोपत्र हुने भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेस सरकार ग्रामीण सडकको धमाधम स्तरउन्नती र कालोपत्र गर्न लागिपरेको बताउनुभयो । उहाँले अबको केहि वर्षभित्र प्रदेशका सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रसहितको सडक बनाउने योजना रहेकोले मुख्य सडकको काम अब धमाधम अघि बढ्ने दाबी गर्नुभयो ।

पूर्वाधार विकास कार्यालयका अनुसार डिबिएसडी प्रकृतिको कालोपत्रे सडकको चौडाई नालीसहित ८ मिटर हुनेछ । आगामी २ वर्षभित्र सक्नेगरि प्यासिफिक फेवा जेभि पोखराले कालोपत्रेको जिम्मा लिएको पुर्वाधार विकास कायालयका प्रमुख दयाराम अधिकारीले बताउनुभयो । सडकको काम आगामी २०७८ असोज २२ गते सम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ

सडक कालोपत्र अन्तर्गत ४१ स्थानमा ह्यूम पाइप कल्भर्ट, ३ स्थानमा आरसिसी कजवे आवश्यक सबै स्थानमा ढुङ्गाको नाली हुनेछ । त्यस्तै पाँच हजार ६९१ घनमिटर ग्याभिन वाल । १० हजार नौ सय ८१ घनमिटर मेसिनरी वाल, आवश्यकता अनुसार बायो इन्जिनियरिङ गरिने अधिकारीले बताए । प्रदेश सरकारको ३४ करोड ६० लाख ६१ हजार १ सय ७६ रुपैयाँमा कालोपत्र हुन लागेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button