तपाईँ सुन्दै हुनुहुन्छः

हराउँदै गयो तिहारको मौलिकता

गलेश्वर-चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।

युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्को भनाइ छ । नेपालीका लागि दशैँपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दशैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिस रमाउने गर्दछन् ।

हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो । तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको उहाँ बताउनुहुन्छ । आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृति देखिन थालेको पं पराजुलीले बताउनुभयो ।

“अरुबेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ, पं पराजुलीले भन्नुभयो, “यसले सबै प्राणीबीच समदृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाई (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यस पर्व अहिले केबल औपचारिकतामा सीमित भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button