तपाईँ सुन्दै हुनुहुन्छः

जेसीज विकास रनिङ शिल्ड पुलिसलाई

चितवन । विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो ।

टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जीत हात पारेको हो । चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार विफल भयो भने सुधांश महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो । तर पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोलमा परिणत भएको थियो ।

जीतसँगै पुलिसले रु छ लाख छ हजार ६६६ र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको चितवन–११ ले रु तीन लाख तीन हजार ३३३ पुरस्कार र उपविजेता शिल्ड प्राप्त गरेको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान बेस्ट प्लेयर बन्नुभयो भने उहाँले रु २५ हजार नगद पुरस्कार पाउनुभयो ।

त्यस्तै उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुधन चौधरी बन्नुभयो । उत्कृष्ट रक्षक बनेका चितवनका सुधांश महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फूटबल क्लबले रु १५÷१५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मानबहादुर विश्वकर्माले रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । गत असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कूल १० टिम सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button