तपाईँ सुन्दै हुनुहुन्छः

मोतिहारी-चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज-चितवन पेट्रेलियम पाइपलाइनको शिल्यान्यास

बीरगंज – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि सरकारले भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्ज हुदै चितवनको लोथरसम्म ग्यास तथा पाइपलाइन परियोजनाको शुभारम्भ गरेको घोषणा गरेको बताउनु भएको छ ।

ग्यास तथा पेट्रोलियम पाइपलाइन परियोजनाको आज एक कार्यक्रमका बिच अमलेखगन्जमा शिलान्यास गर्नुहुंदै मन्त्री यादवले भाषण गर्नु भन्दा पनि आफु काममा बढी बिस्वास गर्ने हुंदा तोकिएको समयावधिभित्र परियोजना सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण पछि ईन्धन तथा ग्यासको आयात थप सहज हुने भएको छ ।

भारत सरकारको सहयोगमा मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई डिजेलको आयातसमेत पाईपलाईन मार्फत भईरहेको छ ।

नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो ।

मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ । उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरूवात भएको मन्त्री यादवले घोषणा गर्नुभयो ।

लोथरमा एलपिजी ग्यास भण्डारण गर्ने ठाउँ पनि निर्माण गर्ने निगमको योजना रहेको छ । अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटर रहेको छ ।

एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ ।

पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिने आयल निगमले जनाएको छ ।

लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको टयांक निर्माण गरिने आयल निगमले जनाएको छ ।

त्यसैगरी पेट्रोलियम पाइपलाइन निर्माणका लागि ५ अर्ब ६७ करोड र भण्डारण क्षेत्रमा निर्माणका लागि ४ अर्ब १९ करोड गरी ९ अर्ब ८६ करोड खर्च हुने आयल निगमले जनाएको छ ।

यता लोथरसम्म पाईपलाईन विस्तार र भण्डारणका लागि १५ अर्ब लाग्ने नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयल निगमका नायब कार्यकारी निर्देशक शुशिल भट्टराई, निर्देशक विरेन्द्र गोईत, आयल निगम अमलेखगन्जका प्रबन्धक प्रदिप यादव, ईण्डियन आयल कर्पोरेशनका परियोजना प्रमुख रमेश चौधरी, परियोजनाका निर्माण प्रबन्धक ईन्जिनियर हरिशकुमार सुमन, पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघका मनोज दास लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button